लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन : अध्यक्ष लम्साल
काठमाडौं । नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ छ ।
बुधबार युनियनका अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ ।
उनले यस्तो अवस्थामा सबै देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुन आग्रह गरेका छन् ।
नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैंले लिने घोषणापछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमणकाल लम्ब्याउने र कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।
लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपील गर्नुभएको छ ।
‘लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,’ अध्यक्ष लम्सालद्वारा विज्ञप्तिमा भनिएको छ । यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई जोड दिँदै सही सूचनाको अभावमा अफवाह फैलने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ ।
सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया