प्रहरी वृत्तका २ प्रहरीको मृत्यु, प्रचण्डकी छोरीको घर र पोखरामा भेटियो शव

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनीहरू महाराजगञ्जमा कार्यरत रहेको घिमिरेले बताए । डीआईजी घिमिरेले बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको बताए ।

उता, पोखराको नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा घरमा काम गर्ने महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच, ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ । मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो ।

आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार शव पुरूषको हो । शव पहिचान हुनसकेको छैन ।

Published : Wednesday, 2025 September 10, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया