सुरक्षा नीतिको कमजोरीले अकालमा ज्यान गयो, तरुण दलले शोक मनाउन आफ्नो कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलन एकाएक रणमैदानमा परिणत हुनुमा सुरक्षा नीतिको उपजबाट उब्जनीको परिणाम भनेका छन् ।

मंगलबार बिहान अध्यक्ष गुरुङले शोक वक्तव्य जारी गरेर भनेर भने, ‘जेनजीले हिजो भदौ २३ गते गरेको आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै एकाएक रणमैदानमा परिण भयो । कमजोर सुरक्षा नीतिको उपजबाट उब्जनी भएको त्यस भयावह अवस्थाबाट विद्यार्थी भाइ, बहिनी लगायत युवाहरूको अकालमै ज्यान गएको छ ।’

‘मृत्यु हुनु हुने सम्पूर्णमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं,’ अध्यक्ष गुरुङले भने, ‘विभिन्न अस्पतालहरूमा अझै पनि उपचाररत घाइतेहरू हुनुहुन्छ, उहाँहरूको उपचारमा केही कसर बाँकी नराखी चुस्त दुरुस्तको साथ उपचारको कार्य अघि बढाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौं ।’

‘आज एक आमाको काख रित्तिएको छ, बुबाको सपनामा ग्रहण लागेको छ । त्यो पूर्ति गर्न असम्भव छ । तैपनि मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्दर्छौं ।’

‘अकालमा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकको रुपमा नेपाल तरुण दल र जिल्लास्थित कार्यालयहरू पाँच दिन बन्द गर्ने र हाललाई तरुण दलको सम्पूर्ण कार्यहरू स्थगित गर्ने निर्णय गर्दछौं,’ अध्यक्ष गुरुङले भने, ‘जिल्लास्थित दलको कार्यसमिति र तरुण दलको केन्द्रीय सदस्यहरूलाई विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूलाई रगत अभाव पूर्ति गर्न लगायतका मानवीय सहयोगमा समन्वय गर्न निर्देशन गर्दछु ।’

Published : Tuesday, 2025 September 9, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया