सुरक्षा निकायको झल्लु नेतृत्वले गर्दा ठूलो मानवीय क्षति भयो, दोषीलाई छानिछानी कारबाही गर

काठमाडौं । सूचनाको सहि विश्लेषण हुन नसक्दा जेनजी पुस्ताको आन्दोलनमा सुरक्षा निकाय नराम्रोसँग चुकेको छ ।

सुरक्षा निकायको लापरबाही र सरकारको उचित निर्णय गर्न नसक्दको परिणाम अनाहकमा युवाहरूले ठूलो संख्यामा ज्यान गुमाउनु परेको छ । नरसंहारको जस्तै अवस्था भएको छ । सयौँ युवाहरू अंगभङ्ग हुने गरी घाइते भएका छन् ।

जेनजी पुस्ताको नाममा नेतृत्व विहीन आन्दोलन हुँदै थियो । यसको जानकारी सुरक्षा निकायलाई थियो । प्रदर्शनमा घुसपैठ हुन्छ भन्ने जानकारी पनि थियो । जानकारी हुँदाहुँदै सुरक्षा निकायले उचित कमद र रणनीति बनाउन चुकेको छ ।

बिगतमा जेनजी पुस्ताको आन्दोलनभन्दा पनि ठूला प्रदर्शन भएका छन् । ती आन्दोलन र प्रदर्शन सहि गन्तव्यमा पुगेर समापन भएका छन् ।

दुर्गा प्रसाईंको आन्दोलनबाट सिकेर सुरक्षा निकायले रणनीति बनाउन चुकेको अवस्था देखिएको छ । माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई बिजुली बजारमा रोक्ने सामर्थ र रणनीति सुरक्षाकर्मीसँग हुनु पर्ने थियो । धेरै ठाउँमा सुरक्षा लापरबाही देखिएको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ गरेर अराजकता निम्ताउँछन् भन्ने जानकारी सुरक्षा निकायलाई पहिला नै थियो । सुरक्षा निकायले सबै जान्दाजान्दै पनि उचित रणनीति बनाउन सकेन । जेनजी पुस्ताको आन्दोलनको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । गृहमन्त्री लेखकले जस्तै सुरक्षा निकायका जिम्मेवार कमाण्डरहरूले पनि राजीनामा दिनुपर्छ ।

सबैभन्दा पहिला नेतृत्व विहीन जेनजी पुस्ताको प्रदर्शन र आन्दोलनका लागि माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गर्न दिनै हुँदैन थियो । प्रदर्शन गर्न दिनु नै थियो भने रिङरोड बाहिरको स्थान तोकिनु दिएको भए संभवत यती ठूलो मानवीय क्षति हुने थिएन । सुरक्षा निकायले समयमा उचित कदम चाल्न सक्ने थिए ।

घुसपैठका लागि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राजावादीहरू लगायतको समूह स्वार्थका लिएर बसेको थियो । नभन्दै त्यही समूहले घुसपैठ गरेर नयाँ बानेश्वरमा प्रदर्शनलाई उत्तेजक, हिंसात्मक बनाउँदा जेनजी पुस्ताका युवाहरूले ज्यान गुमाउनु परेको छ ।

यही मौकामा रास्वपाले विज्ञप्ति जारी गरेर ताजा जनादेशको माग गर्दै सरकार विघटनको माग गरेको छ । ताजा जनादेश भनेको मध्यावधी चुनाव गरौँ भन्ने रास्वपाको माग हो । रास्वपासहितका दल र स्वार्थ समूहको घुसपैठबाट ज्यान गुमाउनेहरूको रगत ओइलाउन नपाउँदै सत्ता स्वार्थ समूहले ताजा जनादेश अर्थात सत्ताको माग गरी हाल्न भ्याएका छन् ।

Published : Monday, 2025 September 8, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया