जेनजीको प्रदर्शन अराजक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सडकमा उत्रिएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको छ ।

सोमबार जेनजी प्रदर्शन अराजक र उत्तेजक बनेर हिंसात्मक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली लागेर ६ जनाको मृत्यु भएको सुरक्षाकर्मीले प्रारम्भीक सूचना दिएको छ ।

बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा.दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । सेन्टरमा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ । २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए । मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

Published : Monday, 2025 September 8, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया