जेनजी समूह अराजक र उत्तेजक बनेपछि गोली चल्यो, कर्फ्यू आदेश

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएको जेनजी पुस्ताको प्रदर्शन उत्तेजक, हिंसात्मक र अराजक बनेपछि सुरक्षा निकायले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार माइतीघरमा जम्मा भएर बबरमहल, बिजुलीबजार हुँदै नयाँ बानेश्वर चोकमा पुगेर जेनजी पुस्ताले प्रदर्शन गरेको छ । जेनजी पुस्ताले प्रहरीले सडकमा लगाएको अबरोधलाई छिचोल्दै निषेधित क्षेत्रमा प्रवेश गरी अराजक हर्कत सुरु गरेपछि स्थितिलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । सुरक्षाकर्मीले गोली चलाएर स्थितिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको दाबी गरिएको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो ।

स्थिति उत्तेजक र नियन्त्रण बाहिर जान खोजेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू जारी गरेको छ । माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कफ्र्यू जारी गरिएको छ ।

सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कफ्र्यू आदेश जारी गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको हो । केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।

Published : Monday, 2025 September 8, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया