सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले स्वदेश र विदेशमा रहेका लाखौँ नेपाली प्रभावित : एनआरएनए

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको आधिकारिक गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ ।

संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउनुभन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।

आइतबार एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल बन्द हुँदा संसारभरि रहेका लाखौँ प्रवासी नेपालीहरूलाई प्रत्यक्ष असर परेको जनाएका छन् ।

चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरूका लागि परिवारसँग सम्पर्क गर्ने सामाजिक सञ्जाल नै एक मात्र भरपर्दो माध्यम भएको प्रवक्ता गौतमले बताएका छन् । यसले गर्दा अहिले लाखौँ परिवारमा चिन्ता बढेको संघले जनाएको छ ।

प्रतिबन्धका कारण सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने र आफ्नो वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवाहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ ।

विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका छन् ।

Published : Sunday, 2025 September 7, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया