अधिनायकवादी र निरंकुश बन्यो ओली सरकार, सामाजिक सञ्जाल बन्दको विरोध गर्ने युथ कांग्रेस पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका ‘युथ कंग्रेस नेपाल’का पाँच जना युवाहरूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा ‘युथ कंग्रेस नेपाल’का महामन्त्रीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा उत्रिएका उनीहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोध गरेका थिए ।

पक्राउ पर्नेहरूमा ‘युथ कंग्रेस नेपाल’का महामन्त्री प्रभातकुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल तथा सुजन राज गिरी, धिरज सञ्जेल र आशिष शर्मा रहेका छन् ।

सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको पक्राउ परेकाहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद र निरंकुश कार्य गर्दै संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताएका छन् ।

‘भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाले विज्ञप्तिमार्फत भनेको छ ।

Published : Saturday, 2025 September 6, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया