नेपाललाई अमेरिकाद्वारा दुई स्काइ ट्रक हेलिकप्टर प्रदान, परराष्ट्रमन्त्री डा.राणाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छिन् ।

बिहीबार अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई वटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण कार्यक्रममा डा.राणाले सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतीक रहेको बताइन् ।

उनले अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताएकी छिन् ।

अमेरिकाले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई परराष्ट्रमन्त्री डा.राणाले धन्यवाद ज्ञापन गरेकी छन् ।

डा.राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरेकी छिन् ।

स्काइ हेलिकप्टर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री मानवीर राई, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थिति रहेको थियो । राजदूत थम्पसनले दुई वटा स्काइ ट्रक हस्तान्तरण गरेका थिए ।

स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

Published : Thursday, 2025 September 4, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया