मालपोतका भ्रष्ट खरदार भण्डारी दुई लाखसहित पक्राउ

बनेपा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काभ्रे मालपोत कार्यालयमा छापामारेर खरदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान करिब ११ बजे आयोगको टोलीले कार्यालयमा छापामारेर खरदार भण्डारीलाई सेवाग्राहीसँग लिएको २ लाख रूपियाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

भण्डारीले सेवाग्राहीसँग काम अगाडि बढाउने नाममा अवैध रकम लिँदै आएको गोप्य सूचनाका आधारमा आयोगले निगरानी गर्दै आएको थियो । त्यही क्रममा भण्डारीलाई रकमसहित रंगेहात पक्राउ गरिएको हो ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको छ । आयोगले आवश्यक प्रमाण संकलन गरी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।

000

प्रेस विज्ञप्ति

विषय: नियन्त्रणमा लिइएको ।

मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले जिल्ला काभ्रेपलाञ्चोक, दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई सेवाग्राहीसँग रु.२,००,०००।–(दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल डिभाइस थान-१(एक) सहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट आज मिति २०८२।०५।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

Published : Wednesday, 2025 September 3, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया