गृहमन्त्री लेखकद्वारा आईजीपी थापालाई बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त भएका आईजीपी थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको लेखकले बताए । उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्वपूर्ण योगदान गर्न थापालाई शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा गृह सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 September 3, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया