आफ्नो तलबबाट मुख्यमन्त्रीले दिए अति विपन्न लालकुमारको घर बनाउन २ लाख

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अति विपन्न लालकुमार प्रजा चेपाङको घर बनाउन मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो तलब, भत्ताको दुई लाख रुपियाँ उपलब्ध गराएका छन् ।

मंगलबार हेटौँडामा नेपाली कांग्रेसका नेताहरू, जनप्रतिनिधि र लालकुमारलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।

कैलाश गाउँपालिका वडा नं. ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका थिए । लालकुमार चेपाङ सीमान्तकृत समुदाय त्यसमा अति विपन्न अवस्थामा रहेका थिए ।

लालकुमारका कुनै सन्तान छैनन् । उनी श्रीमतीसँगै बस्दै आइरहेका छन् । लालकुमारको २ कट्ठा नम्बरी र करिब ३÷४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमा कृषि पेशा गर्दै आइरहेका छन् ।

लालकुमार चेपाङकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गता छिन् । खेतीसँगै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरूलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम प्रदान गरेका छन् ।

पालिकाभित्र सीमान्तकृत समुदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् । लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताए ।

यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठूमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन् ।

Published : Tuesday, 2025 September 2, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया