सरकार र खेलकुद संघहरूबीच समन्वय छैन, केन्द्र र बागमतीमा खेलकुदमा बजेट दोब्बर परेको छ : मोहन बस्नेत

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकार र खेलाडीसँग सम्बन्धित संघ/संगठनहरूबीच समन्वयको अभाव रहेको बताएका छन् ।

मंगलबार नेपालगञ्जमा नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन २०८२ लाई सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन महाधिवेशन निर्देशन समिति संयोजक समेत रहेका नेता बस्नेतले यस पटकको संघीय बजेट र बागमती प्रदेश सरकारले खेलकुदको क्षेत्रमा दोब्बर बजेट ल्याएको बताए । उनले सरकार र खेलसँग सम्बन्धित संस्थाहरूबीच समन्वय आवश्यक रहेको बताए ।

नेता बस्नेतले भने, ‘सरकार र खेलाडीहरू तथा खेलकुद संघबीच समन्वय छैन । खेलकुद परिषदमा उपाध्यक्ष हाम्रो भागमा रहेर बसिरहेको छ । अन्तको पुगी सक्छ, हाम्रो त थाहै छैन ।’

‘जिल्लाको जिल्लास्तरमा, प्रदेशको प्रदेशस्तरमा, केन्द्रको केन्द्रीयस्तरमा सरकार र संघ÷संगठनहरूका बीचमा नजिक हुनुपर्नेछ । यसमा दुरी बढेको छ,’ बस्नेतले भने ।

‘खेलाडीहरूले चाहेको मान्छेहरू, खेल क्षेत्रले चाहेको मान्छेहरू आधिकारिक रुपमा मनोनयन हुन सकिरहेको अवस्था छ । यो दुर्भाग्य हो । हामीले सामन्वय गर्न जरुरी छ,’ नेता बस्नेतले भने ।

कांग्रेस नेता बस्नेतले व्यक्ति कमजोर आफ्नै परिवारभित्रका सदस्यहरूले पनि छाड्ने गरेको बताए । उनले भने, ‘कमजोर भयो भने आफ्नो परिवारको नजिकको मान्छेले पनि छोड्छ । बलियो भने परबाट पनि हाइहाइ गर्ने हुनुपर्ने परिस्थिति आउँछ । कमजोर भए पनि हामीलाई काम लाग्ने हाम्रै मान्छे हो । बलियो भयो भने पनि हामीलाई काम लाग्ने हाम्रै मान्छे हो ।’

बस्नेतले भने, ‘खेलकुदको क्षेत्रमा पहिला पहिला कांग्रेसकै सरकार हुँदा पनि बजेट हेपिएर आउने गरेको थियो । हामी सबै कराउँदा खेलकुदमा संघीय बजेट डबल भएको छ । बागमती प्रदेशमा पनि खेलकुदको क्षेत्रमा बजेट डबल भएको छ । खेलकुद नै नबुझेको मान्छे खेलकुदमा पुग्यो भने खेलकुदको विकास कसरी हुन्छ ?’

‘नेपाली कांग्रेस भएको कारणले, प्रजातन्त्रवादी भएको कारणले चुनावी प्रकृयामार्फत कम्युनिस्टहरूले जुन धावा बोल्छन्, जे जे नहुने कुरा गर्न आउँछन्, त्यो बेलामा लोकतान्त्रिक खेलकुद संघका साथीहरूको नेतृत्वमा हाम्रो अभियानमा अगाडि बढेको बेलामा कुनै पनि जिल्लामा छड्के आँखाले समेत कु–दृष्टि हेरेर राखेर हेर्न नसक्ने अवस्था हामीले सिर्जना गर्न सक्छौँ,’ नेता बस्नेतले भने ।

Published : Tuesday, 2025 September 2, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया