एआईजी तामाङद्वारा प्रहरी वृत्त थानकोटको भवन र व्यारेकको उद्घाटन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवन तथा व्यारेकको उद्घाटन गरेका छन् ।

सोमबार आयोजित विशेष कार्यक्रममा एआईजी तामाङले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।

नेपाल सरकारबाट प्राप्त बजेट अन्तर्गत रही नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयबाट योजना बनाई जिल्ला प्रहरी परिसर, काठमाडौंको मातहत प्रहरी वृत्त, थानकोटको कार्यालय तथा व्यारेक भवनको सम्पूर्ण लागत ६ करोड ७१ लाख ३४ हजार ९ सय २० रुपियाँ ०२ पैसामा निर्माण सम्पन्न भएको छ ।

एआईजी तामाङले काठमाडौं उपत्यकाको प्रमुख नाकाको मध्येको एक नागढुङ्गा क्षेत्रमा अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको बताए । उनले आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिने बताएका छन् ।

तामाङले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको बताएका छन् । प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने चन्द्रागिरी नगरपालिका सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा स्थानीयवासीलाई धन्यवाद व्यक्त गरेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता, अभियानलाई मूर्तरूप दिन उपत्यका प्रहरी कार्यालय शान्ति, सुरक्षा तथा सुशासनमा थप व्यावसायिक बन्दै जाने प्रतिवद्वता व्यक्त गर्दै तामाङले विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन एका छन् ।

चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरी नगरपालिकाका नगर उप–प्रमुख बसन्ती श्रेष्ठ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2025 September 2, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया