अति विपन्न चेपाङको घर बनाउन तलबबाट मुख्यमन्त्रीले दिए पहिलो किस्ताको २ लाख
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अति विपन्न सुमानसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ता वापत दुई लाख रुपियाँ उपलब्ध गराएका छन् ।
बानियाँले आफ्नो तलब र भत्ताबाट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ इन्द्रुङका चेपाङको घर बनाइदिने घोषणा गरेका थिए । बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपियाँ हस्तान्तरण गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र नेपाली कांग्रेसका स्थानीय नेताहरूको रोहबरमा मुख्यमन्त्री बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपियाँको चेक हस्तान्तरण गरेका छन् ।
सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएका चेपाङको बस्ने घर पनि छैन । चेपाङ दम्पत्ती झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब, भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम राक्सिराङको चेपाङ र मनहरीको एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ ।
दशैँअघि नै दुबै घर निर्माण सक्ने गरी काम गर्न मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र कांग्रेसका नेताहरूलाई निर्देशन दिएका छन् ।
राक्सिराङ गाउँपालिका वडा नं. १ का सुमनसिं चेपाङको घरमा २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम भएको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
घर बनाउन खर्च हुने बसै रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् । बानियाँले मनहरी गाउँपालिका–९ की अति विपन्न दलित एकल मिठूमाया सुनारको पनि घर निर्माणका लागि यसअघि नै पहिलो किस्ताबापत २ लाख रुपियाँ हस्तान्तरण गरिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया