एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, कांग्रेस प्रवक्ता डा.महत उपस्थित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका पदाधिकारीदेखि कलाकारसम्मको उपस्थिति रहेकाले माहोल झन् विशेष बनेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

डा.महतले एनआरएनएको निर्वाचन सर्वोच्च अदालतको आदेशअनुसार भएको भन्दै मलेसियामा निर्वाचित कार्यसमितिलाई समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमा फैलिने नकारात्मक प्रचारको प्रतिवाद गर्दै जय नेपाल सम्पूर्ण नेपालीको साझा नारा भएको बताए ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डा.महतले दूतावासको सीमित क्षमता, श्रमिक शोषण, बीमा र सेल्टर होमको आवश्यकता, फ्री भिसा जस्ता समस्याहरूलाई संसद र सम्बन्धित मन्त्रालयमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डा.महतले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको र आईटी, जलविद्युत र पर्यटनले आगामी १५–२० वर्षमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

मलेशियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याएका छन् । उनले गुटबन्दी, व्यक्तिगत स्वार्थ र आर्थिक विवादमा अल्झिन नहुने बताए ।

राजदूत तिमल्सिनाले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दयनीय अवस्था उजागर गर्दै मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गरेका छन् । तिमल्सिनाले श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा, भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए ।

एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्वको समिति सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णयअनुसार वैधानिक भएको बताए । श्रेष्ठले वैधानिकतासम्बन्धी भ्रम चिर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवद्र्धन र वैदेशिक रोजगारमा सुधारका लागि ठोस कार्ययोजना अघि सारेका छन् ।

एनआरएनएका अध्यक्ष श्रेष्ठले मलेसियामा रहेका करिब एक लाख सुरक्षा गार्डहरूको शोषण अन्त्य गर्न, उचित तलब (जस्तै २००० रिंगेट) सुनिश्चित गर्न, सातामा एक दिन बिदाको व्यवस्था गराउन नेपाल र मलेसिया सरकारसँग लबिङ गर्ने घोषणा गरेका छन् ।

श्रेष्ठले २४ घण्टा सञ्चालन हुने एआई–आधारित कल सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गर्दै श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य समस्यामा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् ।

लगानी सम्मेलनमार्फत श्रमिकहरूको सानो पुँजीलाई व्यवस्थित गर्ने र जीवनयापनमा सहयोग पु¥याउने व्यवस्था मिलाउने उनले बताएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का उपाध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया च्याप्टरभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जोड दिन आग्रह गरेका छन् ।

एनआरएनए अभियन्ता तथा माओवादी केन्द्र एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले अदालतको फैसला स्वीकार्दै महेश श्रेष्ठ नेतृत्वको समितिलाई वैधानिक मानेर सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि ईन्द्रनारायण लिम्बु एनआरएनए मलेसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा कलाकारद्वय शोभा त्रिपाठी तथा बुद्ध लामाले सांगीतिक प्रस्तुति दिएका छन् ।

Published : Sunday, 2025 August 31, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया