खोटाङमा भ्रष्टाचार गरेको अभियोगमा हाकिमसहित १३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा.गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भट्टराईसहित केशवप्रसाद दाहाल, ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत गरी १३ जनाविरुद्ध आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू डा.भट्टराई, दाहाल र नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालीन सव–इन्जिनियर शिवराज राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लक्ष्मी माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय पृथ्वी दाहाल र शेषकुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, तत्काली लेखापाल सीता कार्की र भवन निर्माणको जिम्मेवार पाएका अर्जुन तामाङलाई प्रतिवादी बनाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेतको मिलोमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।
तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराईसहित १३ जनाविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०७१/०७२ मा श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको चार कोठे आरसीसी भवन निर्माण कार्यको जिल्ला शिक्षा कार्यालय र विद्यालयबीच भएको सम्झौताको शर्त विपरीत रकम निकासा गरे/गराएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख र विद्यालयले ३० लाख दिने सम्झौता भएको थियो ।
सम्झौताबीच २४ लाख रकम निकासा गरी स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट फिल्डमा २ लाख ७२ हजार ३२८ रुपियाँ बराबरको मात्र भवन निर्माणको काम भएको देखाएर गैरकानूनी हानी पुर्याउने बदनियतले झुट्टा बिल भरपाइ समेतका कागजात पेश गरी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया