गृहमन्त्री लेखक सुरक्षा निकायका चिकित्स र औषधिसहित हैजा प्रभावित वीरगञ्जमा, बिरामीहरूसँग भेट

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

शनिबार साँझ वीरगञ्ज आइपुगेका गृहमन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताएका छन् ।

महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए ।

अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने गृहमन्त्री लेखकले बताएका छन् ।

‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ । तपाईलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ ।’

हैजा पूर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्ने लेखकले बताएका छन् । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु–अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना चिकित्सकलाई जिम्मेवारी दिएका छन् ।

Published : Sunday, 2025 August 31, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया