गौरा पर्व धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकताको आधारशीला हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सभापति देउवाले शुभकामना सन्देश जारी गर्दै देउवाले भने, ‘गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशीला समेत हो ।’

‘विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ,’ देउवाले भने ।

‘यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्न समेत उत्प्रेरित गरेको छ,’ देउवाले भने ।

सभापति देउवाले भने, ‘विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन् ।’

‘तीमध्ये, विशेष गरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छोड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको छ,’ सभापति देउवाले भने ।

‘देवी गौरी (गौरा) र भगवान शिव (महेश्वर)को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छ,’ सभापति देउवाले भने ।

देउवाले भने, ‘गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published : Saturday, 2025 August 30, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया