ओली नेपालबाट चीन उडेकै दिन विद्यादेवी तराई झरिन्, सिमरामा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले एकहप्ताका लागि देश छाडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बारा जिल्लामा आफ्नो पकड बनाउने प्रयास गरेकी छिन् ।

शनिबार बिहान बारा जिल्लामा एमाले पूर्वउपाध्यक्ष भण्डारीलाई एमालेका कार्यकर्ताहरूले ५१ किलाको फूलको मालाले स्वागत गरेका छन् ।

एमालेको निर्देशनविपरित कार्यकर्ताहरूले सिमरा विमानस्थलमा ५१ किलोको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका छन् ।

भण्डारीको स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिएको थियो । पूर्वराष्ट्रपति भण्डारीको स्वागतमा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

एमालेका अध्यक्ष ओली पक्षले भण्डारीको कार्यक्रममा कार्यकर्तालाई रोक्ने प्रयास गरेपछि पूर्व खेलकुदमन्त्रीसमेत रहेका पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेताहरू स्वागतको तयारीमा जुटेका थिए ।

प्रधानमन्त्री ओली शनिबार बिहान चीनको भ्रमणका लागि प्रस्थान गरेकै बेला पूर्वराष्ट्रपति भण्डारी तराईका जिल्लाहरूमा एमालेभित्र पकड बनाउन झरेकी छिन् ।

Published : Saturday, 2025 August 30, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया