इम्बोस्ड नम्बर राख्नेबारे अध्ययन र तयारी गरेर मात्रै लागू गरौँ, दुःख दिने काम नगरौँ : कांग्रेस सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एम्बोस्ड नम्बर राख्ने विषयमा अध्ययन र तयारी गरेर मात्रै लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले इम्बोस्ड नम्बर राख्ने बारेको सरकारको तयारी अपर्याप्त रहेको बताए । उनले भने, ‘अहिले पब्लिक सरोकार भएको विषय इम्बोस्ड नम्बर छ । यसलाई अध्ययन गरेर मात्रै लागू गरियोस् । पब्लिकलाई अफ्ठ्यारो अवस्थामा नपारियोस् ।’ उनले जनतालाई इम्बोस्ड नम्बर जडान गर्ने उर्दी जारी गरेर दुःख दिने काम नगर्न आग्रह गरेका छन् ।
सांसद खतिवडाले उखु किसानहरूको मागको सुनुवाई र किसानलाई ७० रुपियाँ अनुदान दिने विषय छिटो निर्णय गर्न आग्रह गरेका छन् ।
‘उखु किसानको मागलाई सरकारले तुरुन्त सम्बोधन गरोस् । ७० रुपियाँ अनुदान दिने व्यवस्था कार्यान्वयन गरोस् । सरकारसँग माग गर्न चाहन्छु,’ खतिवडाले भने ।
कांग्रेस सांसद खतिवडाले नेपालमा विभिन्न नाममा सार्वजनिक विदा दिने कार्य अव्यवहारिक रहेको बताएका छन् । उनले सार्वजनिक विदा दिने निर्णयमा सुधार र कटौतीका लागि आग्रह गरेका छन् ।
‘आज एउटा खुसीको कुरा पनि भएको छ । नेपाल पब्लिक होलिडे दिनेमा संसारमा सबैभन्दा पहिलो नम्बरमा परेछ । पहिलो नेपाल, दोस्रो इरान, तेस्रो म्यानमार, चौथो श्रीलंका, पाँचौँ बंगलादेश, छैटौँ कम्बोडिया, सातौँ इण्डिया, आठौँ चिली, नवौँ म्यानमार र दशौँ मलेशिया हुँदै ईष्टटिमोर १५औँ देशमध्ये संसारमा पब्लिक होलिडे हुने पहिलो देश नेपाल बनेछ । विदालाई अलिक कम गर्नु पर्छ,’ सांसद खतिवडाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया