आधिकारिक एनआरएनएलाई ८३ लाख बढी रकम र जिन्सी सामान हस्तान्तरण
काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराएका शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपियाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ ।
श्रेष्ठको अध्यक्षतामा गठन भएको एनआरएनए कार्यसमितिलाई शुक्रबार ललितपुरमा सम्पन्न विशेष समारोहबीच रकम र जिन्सी सामानसहित सम्पत्ति हस्तान्तरण गरिएको हो । श्रेष्ठ नेतृत्वको एनआरएनएलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मान्यता दिएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार भएको महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो । विभिन्न नाम र समूहबाट सञ्चालित अबैध व्यक्तिहरूले एनआरएनएको बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा गरेर राखेका छन् । अध्यक्ष श्रेष्ठले एनआरएनएको केन्द्रीय कार्यालयबाट छिट्टै कार्यसम्पादन गर्ने जनाएका छन् ।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने बताएका छन् । घलेले भने, ‘एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएर रहेका नेपालीहरूको साझा परिवार हो । यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएको छु ।’
समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिले गत वैशाखमा निर्वाचन गराएपछि ८३ लाख ६२ हजार २ सय २८ रुपियाँ बचत भएको र सो रकम नयाँ समितिलाई हस्तान्तरण गरिएको बताइन् । कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी सम्पत्तिहरू समेत नयाँ नेतृत्वलाई जिम्मा दिइएको गुरुङले बताइन् ।
अध्यक्ष श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । श्रेष्ठले भने, ‘हामीले कतिपय कठिनाइको बीचमा काम गरेका छौँ । पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै छोडेनौँ । अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने हुनेछ ।’
एनआरएनएका अध्यक्ष श्रेष्ठले बद्री केसी समूहले अक्टोबरमा महाधिवेशन गर्ने भनिएपनि त्यो सम्भव नरहेको र रोकिने बताएका छन् । श्रेष्ठले आधिकारिक एनआरएनए आफूहरू नै भएको भन्दै छिट्टै कार्यालयबाटै काम गरिने बताएका छन् ।
पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताए । आचार्यले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै सो नागरिकता कार्यान्वयनका साथै समग्र विषयमा आवाज उठाउन पनि एकताबद्ध एनआरएनए हुनुपर्ने बताएका छन् ।
नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राख्दै नयाँ कार्यकाललाई सहकार्य र साझेदारीको आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छने ।
उनीहरूले प्रवासी नेपालीहरूको नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रबद्र्धन र आपत्कालीन अवस्थामै सहयोग पु¥याउने अभियानलाई प्राथमिकता दिने बताएका छन् ।
भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी समितिका सदस्य तथा पूर्वअध्यक्ष देवमान हिराचन, सदस्य विनोद कुँवर, अभियन्ता आरके शर्मासहित अन्य वक्ताहरूले पनि महेश श्रेष्ठ नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन आग्रह गरेका छन् । एनआरएनए सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुङ्गानालगायतको पनि सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया