घर बाहिर त्रिपाल टाँगेर बसेका महिला र बालिकाको मृत्यु

पञ्चदेवल । अछाममा छाउपडी बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख (डीएसपी) ओमप्रकाश खनालले बताए ।

मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको डीएसपी खनालले बताए ।

‘गाउँमा छाउगोठ छैन । त्रिपाल टाँगेर बस्ने रहेछन् । महिनावारीको समयमा यसरी त्रिपालमा बस्न बाध्य बनाइएको भए कानूनी प्रक्रिया अगाडि बढाउँछौँ,’ खनालले बताए ।

स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपालमुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुङ्गा लागेको प्रहरीले जनाएको छ ।

अछाममा छाउगोठ भत्काइए महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि र ओडारमा बस्न थालेका छन् ।

Published : Friday, 2025 August 29, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया