श्रेष्ठ नेतृत्वको आधिकारिक एनआरएनएलाई नगद र जिन्सी हस्तान्तरण गर्ने

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेशकुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई नगद र जिन्सी हस्तान्तरण गर्ने भएको छ ।

शुक्रबार हस्तान्तरण कार्यक्रम हुन लागेको छ । ललितपुरको कुपन्डोलस्थित होटेल हिमालयमा जिन्सी र नगदसहितका सामग्री बरबुझारथ हुनेछ ।

‘एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउँदा बचेको ८० लाख बढी रकम र अन्य जिन्सी सामग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न लागेका छौं,’ उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन् । गुरुङले हस्तान्तरण कार्यक्रमले एनआरएनएको एकता र पारदर्शितालाई थप बलियो बनाउने बताएकी छिन् ।

सर्वोच्च अदालतको २० चैत २०८० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो ।

सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो । समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौं आयोजना गर्ने निर्णय गरेको थियो ।

वैशाख २०–२१ (मे ३–४, २०२५) मा काठमाडौंको हायात होटेलमा आयोजित एकता महाधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

एकता महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री डा.आरजु राणाले सहभागिता जनाएकी थिइन् । डा.राणाले सर्वोच्च अदालत र नेपाल सरकारले एकता महाधिवेशनलाई मान्यता दिएको उल्लेख गरेकी थिइन् ।

डा.राणाले भनिन्, ‘हामी एकमात्र एनआरएनएलाई मान्यता दिन्छौं । यो नै आधिकारिक हो, सबै एकजुट हुनुपर्छ ।’

परराष्ट्र मन्त्रालयले गत मे २२, २०२५ मा विश्वभरका नेपाली कुटनीतिक नियोगहरूलाई पत्राचार गरी महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) नै आधिकारिक भएको जानकारी गराएको थियो ।

Published : Thursday, 2025 August 28, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया