प्रचण्डद्वारा एमालेभित्र ओली-भण्डारीबीच दिए विवाद गराउने अभिव्यक्ति

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेभित्र विवाद र आगो सल्किने गरेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सार्वजनिक रुपमा विवाद भइरहेका बेला दाहालले एमालेमा झन् विवाद हुने गरी अभिव्यक्ति दिएका हुन् । एमालेभित्र भाँडभैला मच्चाउन दाहालको अभिव्यक्ति आएको नेताहरूको भनाइ छ ।

बिहीबार विराटनगर विमानस्थलमा स्थानीय पत्रकारहरूसँग माओवादी अध्यक्ष दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् । आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको दाहालले बताए ।

उनले भने, ‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ ।’

उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताए । उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।’

पहिला प्रधानमन्त्री ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइएको बताउँदै दाहालले चीन भ्रमणपछि भने विवाद देखिएको बताए ।

‘विद्याजी जो अहिले सक्रिय राजनीतिमा आउन चाहनु भएको छ, त्यो सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा भएको हो भन्ने कुरा पनि अब त छर्लङ्ग भएको छ,’ दाहालले भने, ‘चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरुको बिचमा पहिला चलेको हो । तर, पछि चीन भ्रमणबाट आएपछि सायद के भयो उहाँहरूको, त्यहाँ म जान चाहन्नँ ।’

‘यो बीचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन कुराकानी भएको पनि छैन,’ दाहालले भने, ‘अब देशको राजनीति कता कसरी जान्छ भन्नेबारेमा चासो हुनु स्वाभाविकै हो । प्रत्यक्ष परोक्ष कुरा त बुझिएकै छ, अहिलेको गठबन्धन सरकारले जसरी काम गरेको छ त्योप्रति आम जनतामा आक्रोश पनि छ, असन्तुष्टि पनि छ ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनका लागि रोक्न नमिल्ने बताए । ‘दुनियाँमा त्यस्ता धेरै उदाहरणहरू छन् जो राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन्, प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका छन्,’ दाहालले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवको कुरा गर्ने हो भने राष्ट्रपति महानगरपालिकाको मेयर भएका उदाहरण पनि विश्वमा धेरै छन् ।’

Published : Thursday, 2025 August 28, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया