मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्चमा दशैँ अगाडि नै अतिविपन्न सुमनसिंको घर बनाइदिने
हेटौँडा । गत भदौ ३ गते मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा घरमा श्रीमती सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउँपालिका कार्यालय पुगे । सुत्केरीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतको लागि दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायतका सामाग्री हस्तान्तरण गर्यो ।
सुमनसिंको परिवारलाई बस्ने बास र खानेकुराकै अभाव रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आए । विभिन्न सामाजिक सञ्जालमा उनको झुप्रोको फोटोसहित पोष्ट भए । यो कुरा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई समेत जानकारी भएपछि सुमनसिंले अब नयाँ घर पाउने भएका छन् ।
साउन २० गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका सोही क्षेत्रका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्च गरिदिने भएका हुन् ।
बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउँपालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानियाँले दशैँअघि नै घर तयार गर्नेगरी काम सुरु गर्न भनेका छन् ।
२ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण यथाशीघ्र गरिने र दशैँअघि नै हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् ।
मुख्यमन्त्री बानियाँले केहीदिनअघि मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठूमाया सुनारको पनि घर निर्माणका लागि सहयोग गरेका छन् । उनको घर बनाउन बानियाँले पहिलो किस्ताबापत २ लाख रुपियाँ हस्तान्तरण गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया