नागरिक दैनिकमा तलब नपाएपछि पत्रकारहरू आन्दोलित, चेतावनीसहित बुझाए ज्ञापन पत्र

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपाल, नागरिक प्रतिष्ठान शाखाले नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेललाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार प्रतिष्ठान शाखाका संयोजक हेमराज भट्टराईको नेतृत्वमा सम्पादक लुइँटेललाई कार्यसमितिले ज्ञापन पत्र बुझाएको हो । मानव संसाधन प्रमुख मनुजा देवकोटा अनुपस्थित रहेपछि संघले सम्पादक लुइँटेललाई ज्ञापन पत्र बुझाएको छ ।

नागरिक दैनिकको सूचना पाटीमा टाँसिएको माग पत्र १५ मिनेटभित्रै व्यवस्थापनले च्यातेर फ्याँकिदिएको कर्मचारीहरूले गुनासो गरेका छन् ।

प्रकाशक विनोद ज्ञवाली, मानव संसाधन प्रमुख र सम्पादक गुणराज लुइँटेललाई सम्बोधन गर्दै बुझाएको माग पत्रमा लामो समयदेखि नदिएको र विभिन्न बहाना बनाएर मनलाग्दी काटिएको तलबका साथै कानूनले तोकेका सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइदिन अनुरोध गर्दै माग पत्र बुझाएको संघका सचिव अरबिन्द्रमान सिंहले बताएका छन् ।

संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले भने, ‘श्रमजीवी पत्रकारहरूप्रति नागरिक दैनिकको व्यवस्थापन पक्षबाट पटक पटक धोका भएको छ, अब टुलुटुलु हेरेर बसिन्नँ, सशक्त दबाब दिएर पत्रकार र कर्मचारीका माग सम्बोधन गर्न बाध्य पारिनेछ ।’

नेपाल रिपब्लिक मिडियाअन्तर्गत नागरिक दैनिक र रिपब्लिकामा कार्यरत पत्रकार तथा कर्मचारीहरूले संस्थाको स्थापनाकालदेखि नै न्यूनतम पारिश्रमिक नपाउनुका साथै अन्य सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

‘एकातिर संस्थाले स्थापनाकालदेखि कतिपय पत्रकार तथा कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक दिएको छैन भने दिएको पारिश्रमिक पनि कोभिड–१९ सुरु भएपछि लकडाउनको नाम गरी करिब ४३ महिना ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म तलब काटेको थियो भने अहिले पनि श्रमिकको श्रमको अवमूल्यन गर्दै श्रम ऐन २०७४, श्रम नियमावली २०७५ तथा श्रमजीवी पत्रकार ऐनलगायतमा उल्लिखित कुनै पनि सेवा सर्त पूरा गरेको छैन,’ माग पत्रमा भनिएको छ ।

तोकिएको समयभित्र माग पत्रको सम्बोधन नभए वा पूरा गर्न कुनै किसिमको पहल नभएमा चरणबद्ध आन्दोलनमा जाने संघमा आबद्ध पत्रकार कर्मचारीहरूले बताएका छन् । एक हप्ताभित्र माग पूरा नभए सामाजिक सञ्जालमा सम्पादक, प्रकाशकलगायत व्यवस्थापनमा कार्यरत व्यक्तिहरूको फोटामा कालो पोतेर विरोध गर्ने, नागरिक दैनिकमा अहिलेसम्म भएका सबै कर्तुतहरू सार्वजनिक गर्ने, सम्पादकको कार्यकक्ष घेराऊ गर्ने, प्रालिका अध्यक्षलगायत विभागीय हाकिमहरूको कार्टुन बनाई ‘श्रमको मूल्य देऊ’ लेखी विभिन्न माध्यममार्फत सार्वजनिक गर्ने, धितो पत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क, सम्पत्ति शुद्धीकरण विभागलगायतमा छानबिनका लागि डेलिगेसन जानेलगायत पहिलो चरणको आन्दोलन गर्ने पत्रकारहरूले जनाएका छन् ।

‘दोस्रो चरणमा प्रालिका अध्यक्षलगायत विभागीय हाकिमहरूको कार्यकक्ष घेराऊ गर्ने, नागरिक दैनिकको गेटमा घेराउ गर्ने, प्रेस र डिस्प्याच अनि वितरणमा साताको एक दिन काम नगर्ने, प्रालिका अध्यक्षको निवासमा प्ले कार्डसहित १ घण्टा प्रदर्शन गर्ने, साताको २ दिन प्रेस र डिस्प्याच अनि वितरणमा काम नगर्नेलगायत कार्यक्रम पनि माग पत्रसँगै बुझाएका छन् । यसका साथै दोस्रो चरणसम्म पनि कुनै सुनुवाइ नभए तेस्रो र चौथो चरणका आन्दोलन गर्दै अन्ततः ट्रेड युनियन ऐनले दिएको अधिकार प्रयोग गर्दै हडतालसम्म जाने ब्यहोरा अवगत गराउँदछौ,’ माग पत्रमा भनिएको छ ।

संघका केन्द्रीय अध्यक्ष जैसीले भने, ‘श्रमजीवी पत्रकारहरुप्रति नागरिक दैनिकको व्यवस्थापन पक्षबाट पटक पटक धोका भएको छ, अब टुलुटुलु हेरेर बसिन्नँ, सशक्त दबाब दिएर पत्रकार र कर्मचारीका माग सम्बोधन गर्न बाध्य पारिनेछ ।’

Published : Wednesday, 2025 August 27, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया