बेलायतमा हजारौ नेपालीले दिए कुलमानको उज्यालो नेपाल अभियानलाई साथ

लन्डन । बेलायतवासी नेपालीहरूले सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले शुरु गरेको उज्यालो नेपाल अभियानलाई साथ दिने घोषणा गरेका छन् ।

आइतबार लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलामा सहभागी झन्डै १५ हजार जनसमुदायलाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए । उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह गरेपछि मेलामा उपस्थित हजारौं जनसमुदायले हात उठाउँदै उक्त अभियानमा आफ्नो साथ र समर्थन रहेको जनाएका थिए ।

घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए । उनले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए ।

मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए ।

उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न नसक्ने निक्र्यौलमा आफू पुगेको बताए । उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आह्वान गरे ।

खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्षसम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढीला नगरिकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने ।

घिसिङले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पूरा गर्न आग्रह पनि गरे । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरु भेला भएर उत्सव मनाएको देख्दा आफू अत्यन्तै खुसी भएको बताए । घिसिङले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए । उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव डा.विशाल गुरुङले गरेका थिए ।

मेलामा ४५ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए ।

मेलाको उद्घाटन तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरूले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए ।

Published : Tuesday, 2025 August 26, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया