रामहरि खतिवडाले उच्च राजनीतिक संस्कार देखाएपछि रिक्त सभापतिको चयन हुने, कांग्रेसले नै पाउने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

सभापतिका लागि भदौ १० गते मंगलबार उमेदवारी दर्ता कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभाका सचिव हर्कबहादुर राईले सोमबार जारी गरेको सूचनामा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म ‘समितिको सभापति निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गरिने उल्लेख छ ।

‘…सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गर्ने,’ सूचनामा भनिएको छ ।

सभापति चयन गर्न यही भदौ ११ गते दिउँसो ३ बजे समितिको बैठक बस्नेछ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभापतिबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन गर्न लागिएको छ ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै खतिवडाले सभापति पदबाट राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।

खतिवडाले उच्च राजनैतिक नैतिकतासहित सभापति पद परित्याग गरेर राजनीतिक संस्कार देखाएका छन् । खतिवडाले देखाएको संस्कार अन्य दल र सांसदहरूले देखाउन सकिरहेका छैनन् ।

प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान गरेको छ ।

दलीय सहमतिका आधारमा राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेकाले अन्य कुनै पद दलले सभापति दाबी गरेका छैनन् ।

कांग्रेसबाट समिति सभापति बन्नेमा दिलेन्द्र बडू, अम्बिका बस्नेत लगायतको नाम चर्चामा छ ।

Published : Monday, 2025 August 25, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया