मानव तस्करीकी आरोपी उपसभामुख राना अनुमति नलिएर १० पटक विदेश उडिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभामुख बनेकी ईन्दिरा राना मगर संसद सचिवालयलाई जानकारीनै नगराइ १० पटकसम्म विदेश भ्रमणमा गएको तथ्य बाहिर आएको छ ।

कानूनी व्यवस्थाअनुसार उपसभामुख विदेश भ्रमणमा जाँदा संसद सचिवालयलाई जानकारी गराइ सभामुखसँग अनुमति लिएर जानुपर्छ । तर, रानाले विदेश जाँदा १० पटकसम्म अनुमति नै नलिएर वा जानकारी नै नगराएर विदेश भ्रमणमा गएको तथ्य बाहिर आएको छ ।

उपसभामुख रानालाई मानव तस्करीको अभियोग लागेको छ । रानाले दलालमार्फत अमेरिका जाने युवाहरूलाई भिसामा सहजीकरण गर्न भनेर नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेके थिइन् । उनले आफूले पत्र लेखेको पनि स्वीकार गरिसकेकी छिन् ।

राना उपसभामुख भएपछि १७ पटक विदेश भ्रमणमा गएकी छिन् । रानाले ७ पटकमात्रै सभामुखसँग अनुमति लिएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले उपसभामुख राना १७ पटक विदेश भ्रमण गएको र १० पटकसम्म अनुमति नलिएर सुटुक्क विदेश भ्रमणमा गएको बताए । उनले भने, ‘उपसभामुखमा निर्वाचित भएपछि १७ पटक विदेश भ्रमणमा जानुभएछ । त्यसमध्ये कानून अनुसार ७ भ्रमण मात्रै सभामुखज्यूसँग स्वीकृत गराएर जानु भएको रहेछ । १० पटक स्वीकृत नै नगराएर जानुभएछ ।’

‘जनप्रतिनिधिहरूको थलो सम्मानित सदनको नेतृत्व गर्ने व्यक्ति यसरी जाँदा आम नागरिकले कसरी बुझ्ने ? उहाँ कहाँ जानुभएको छ भन्दा के जबाफ दिने ? यही हो आचरण ?,’ सांसद भट्टराईले प्रश्न गरेका छन् ।

राना औपचारिक रूपमा सन् २०२३ को मे १५ देखि १७ सम्म सिंगापुरमा भएको अन्तर्राष्ट्रिय व्यापारमा आरएसआइएस डब्ल्यूटीओ संसदीय कार्यशालामा भाग लिन गएको देखिएको छ । रानासँग सांसदद्वय अम्मरबहादुर रायमाझी र विनोद चौधरी पनि गएका थिए ।

सन् २०२३ कै जुलाई ८ देखि ९ गतेसम्म चीनको गुइयाङमा भएको इको फोरम ग्लोबलमा भाग लिन राना सांसदहरू मैना कार्की, भगवती चौधरी, चन्दा कार्की भण्डारी, उपसचिव विमलराज जोशीको नेतृत्व गर्दै गएकी थिइन् ।

राना सन् २०२४ को सेप्टेम्बर ८ देखि २० सम्म सेन्ट पेटर्सवर्ग रसिया, सन् २०२४ कै जुलाई २ देखि ७ सम्म लिन्झी चाइना, २०२५ को मे ११ मा बंगालादेशसहितका देशमा गएको तथ्याङ्कले देखाएको छ ।

उपसभामुख राना कुनै पनि जानकारी नगराइ स्पेन, अमेरिका, भारत, बंगलादेश र हङकङको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । रानाले ४ पटक अमेरिका र ३ पटक भारतको भ्रमण गरेकी छिन् । उनले स्पेन, बंगलादेश र हङकङको एक÷एक पटक भ्रमण गरेकी छिन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलभित्र छन् । सभापति नै ठगी लगायतका काण्डै काण्डमा परेका बेला रास्वपाका अन्य नेता र सांसदहरू पनि काण्डमा परेका छन् ।

रास्वपाबाट समानुपातिक सांसद बनेर उपसभामुख बनेकी रानाले अनुमति नै नलिएर १० पटकसम्म विदेश भ्रमणमा जाँदा प्रश्न उठ्नु स्वभाविक हो । उपसभामुख राना अमेरिकामा मानिस पठाउन भूमिका खेलेको र अमेरिकी दूतावासलाई पत्र लेखेको विषयले पनि रास्वपाका नेताहरूका विभिन्न धन्दा र अबैध गतिविधि छन् भन्ने संकेत गरेको छ ।

Published : Saturday, 2025 August 23, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया