पोखरा १५ अर्ब घोटालामा कारबाही सिफारिस प्रदीप जथाभावी बोलेपछि निलम्बन गर्न संसदमा माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सार्वजनिक लेखा समितिविरुद्ध दिएको अभिव्यक्तिप्रति संसदमा कुरा उठेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै कांग्रेस सांसद केसीले महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गरि कारबाहीको माग गरे । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्बौंको भ्रष्टाचारबारे सार्वजनिक लेखा समितिले गरेको निर्णयप्रति महानिर्देशक अधिकारीले दिएको अभिव्यक्तिको सांसद केसीले कडा शब्दमा विरोध गरेका छन् ।
सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका कांग्रेस सांसद केसीले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणविहीन, हावादारी र मनगढन्ते भनेर प्रतिवादन गर्नुभएको छ ।’
‘प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो,’ केसीले भने, ‘दुबै निकायको मौनता र कारबाही नहुनु दुखद् र खेदपूर्ण छ ।’
‘यसले संसदीय समितिको मर्यादा, विशेषाधिकारमाथि प्रश्न उठाएको छभने भ्रष्टाचार संरक्षणमा सरकारी संलग्नताको आशंकाको पुष्टि गरेको छ,’ सांसद केसीले भने ।
‘अख्तियारले तत्काल सत्यतथ्य छानविन गरि यथार्थताको आधारमा कारबाही र निलम्बनको प्रक्रिया तत्काल शुरु गरोस् अन्यथा संसदीय समितिको अस्तित्व विश्वसनीयता र प्रतिष्ठामाथि गम्भीर आघात पुग्नेछ,’ कांग्रेस सांसद केसीले भने ।
‘संसदीय समितिहरू बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभइ समितिको आधिकारिक प्रतिवेदन हो,’ सांसद केसीले भने ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब भ्रष्टाचार भएको ठहर गर्दै सार्वजनिक लेखा समितिले प्राधिकरणका महानिर्देशक अधिकारीलाई भ्रष्टाचारको मुख्य नाइके भन्दै अख्तियार र सरकारलाई लेखेर पठाएको छ । लेखा समितिले महानिर्देशक अधिकारीसहितका आरोपीहरूलाई निलम्बन गरेर कारबाही सिफारिस गरेको छ ।
यता, १५ अर्ब घोटाला र भ्रष्टाचारमा मुछिएका महानिर्देशक अधिकारीले मंगलबार पोखरा विमानस्थलमा काठमाडौंबाट १०÷१५ पत्रकारहरू लगेर पत्रकार सम्मेलन गरि आफ्नो पक्षमा समाचार लेखाएका छन् ।
आफ्नो पक्षमा आएका समाचारहरूलाई विभिन्न नाम गरेका दुई वटा फेसबुक पेजबाट महानिर्देशक अधिकारीले बुस्ट गरिरहेका छन् । महानिर्देशक अधिकारीले आफ्नो पक्षमा समाचार देखाए पनि वा समाचारहरू जति बुस्ट गरे पनि १५ अर्ब घोटाला र भ्रष्टाचार काण्डबाट मुक्ति पाउने सम्भावना छैन ।
यसअघि, लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया