ठगीमा रवि जेलमा रहेका बेला अर्का नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा पक्राउ
काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका बेला अर्का नेता हरिप्रसाद कँडेललाई प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले बिहीबार रास्वपाका नेता कँडेललाई पक्राउ गरेको जनाएको छ । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरका कँडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।
रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले कँडेल प्रशिक्षण विभाग संयोजक रहेको बताएका छन् । कँडेलले आफ्नो नामको अगाडि डाक्टर लेख्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रमुख (एसपी) प्रदीप क्षेत्रीले रास्वपाका नेता कँडेललाई बिहीबार चितवनबाट पक्राउ गरेर रूपन्देही ल्याइएको बताएका छन् ।
साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना भारतीयलाई पक्राउ गरेको थियो ।
भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो ।
प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको थियो । विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएका थिए ।
भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला पारेको थियो ।
जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू पनि बरामद भएका थिए ।
कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए । पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उनी पदका लागि अयोग्य ठहर भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया