१५ अर्बको घोटाला कारबाही सिफारिस भएका प्रदीपद्वारा लेखा र आलेमाथि प्रहार, बचाउका लागि साइबर सेना गठन

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब घोटालामा मुख्य नाइकेका रुपमा कारबाही सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसदको सार्वजनिक लेखा समितिमाथि धावा बोलेका छन् ।

सार्वभौव संसदको सार्वजनिक लेखा समितिले बनाएको उपसमितिबाट आएको प्रतिवेदनलाई हावादारी भनेर गम्भीर प्रश्न उठाएका छन् । महानिर्देशक जस्तो जिम्मेवारी उच्च तहको पदमा बसेको व्यक्तिले लेखा समितिको प्रतिवेदनलाई हावादारी भनेर संसदको गरिमाको अवमूल्याङ्कन गरेका छन् ।

आफू निकटका १०/१५ जना पत्रकारहरूलाई काठमाडौंबाट पोखरा लगेर महानिर्देशक अधिकारीले लेखा समितिको हुर्मत लिएका छन् । उनले पोखरा विमानस्थलमा मंगलबार पत्रकार सम्मेलन गरेर दुई घण्टासम्म आफ्ना मनभित्रको भडास पोखेका छन् । अधिकारीले आफ्नो आलोचना गर्ने र विरोधीहरूको हुर्मत लिएका छन् । दुई घण्टा धाराप्रवाह बोलेका अधिकारीले पत्रकारहरूलाई क्रस प्रश्न सोध्न दिएनन् । छेउमा पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई राखेर अधिकारीले पत्रकार सम्मेलन गरेका थिए । महानिर्देशक अधिकारीको सबैभन्दा नजिकको विश्वासपात्र निरौला पर्छन् ।

महानिर्देशक अधिकारीले संसदको सार्वजनिक लेखा समितिले बनाएको उप–समितिले मनगढन्ते रूपमा हावादारी प्रतिवेदन बनाएको आरोप लगाए । अधिकारीसहितका उच्च तहका कर्मचारीहरूलाई उप–समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५ अर्ब भ्रष्टाचार भएको आरोप लगाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उप–समितिले विमानस्थल निर्माणको लागत १५ अर्बबाट बढाएर २२ अर्ब पुर्‍याएको, विमानस्थलको रन–वे दबाएको, रन–वे पुनर्निर्माणमा विमानस्थलकै माटो प्रयोग गरे पनि बाहिरबाट माटो ल्याएको बिल बनाएको, विमानस्थलभित्र हवाई इन्धन डिपो आफैंले बनाउनुपर्नेमा नबनाएको, रिठ्ठेपानी डाँडा आवश्यकताभन्दा बढी काटेर भ्रष्टाचार गरेको आरोप लगाएको छ । उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने र दोषीलाई कानूनी कारवाही गर्नुपर्ने भनेको छ ।

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले एक रुपियाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न सरकार र छानविन उप–समितिलाई चेतावनी दिएका छन् । अधिकारीले भने, ‘सरकारले जे–जे गर भने त्यो–त्यो गरेर काम सक्दा अभियुक्त भएर सिफारिस हुन्छ ? यो कस्तो न्याय हो ?’

१५ अर्ब घोटालाको मुख्य नाइकेका रुपमा कारबाही सिफारिसमा परेका महानिर्देशक अधिकारीले छानविन उप–समितिले लगाएको भ्रष्टाचारको बुँदाबुँदाको खण्डन गरेका छन् ।

लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।

उनले भने, ‘के लोकतन्त्र, मौलिक हक, वाक् स्वतन्त्रता निषेध हो नेपालमा ? कि कसैको लेपमा, कसैको आवरणमा, कुनै उप–समितिको नाममा गलत काम हुन्छ । बिना प्रमाण लेखिन्छ र लेखाइन्छ भने हामी काम गर्ने मान्छेको सुरक्षा कसले गर्छ ?’

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा जनताको ट्याक्स खर्च गरेको भनेर भ्रम फैलाएकोसमेत दाबी गरेका छन् । ‘विमानस्थलमा जनताको ट्याक्स एक पैसा पनि खर्च गरेको छैन,’ उनले भने, ‘एयरपोर्ट चल्ने भनेको प्यासेन्जर सर्भिस चार्जबाट हो । यो संसारभरको नियम हो । तर, यसलाई जनताको ट्याक्स भन्न मिल्दैन । नचढेको मान्छेलाई लिएको हो र ? चढेकोले त सेवा लिएवापत तिरेको रकम हो । कसले ट्याक्स तिर्छ ?’

महानिर्देशक अधिकारीले पहिले विमानस्थल निर्माणमा राम्रो काम गरेको भन्दै चाइनिज कम्पनी सिएमसिलाई सम्मान गर्ने मान्छे नै अहिले भ्रष्टाचार भयो भन्दै कराइरहेको बताए । महानिर्देशक अधिकारीले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेप्रति व्यङ्ग्य गरेका छन् । आलेको नाम नलिई उनले भने, ‘जो मान्छे अहिले कराइरहेको छ नि ! त्यो मान्छेले नै आएर राम्रो काम गरेको भन्दै प्रमाणपत्र दिएको होइन ? उसैको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय होइनन् ।’

साइबर सेना परिचालन

महानिर्देशक अधिकारीले आफूविरुद्ध आलोचना धेरै हुन थालेपछि साइबर सेना तयार पारेका छन् । अधिकारीले विभिन्न नाम गरेका फेसबुक पेजहरू बनाएर आफ्ना भनाइका भिडियो र आफूलाई समर्थन गरेर प्रकाशित समाचारहरू सेयर गर्न लगाएका छन् । ती समाचार र भिडियोहरूलाई बुस्ट गरिएका छन् । १५ अर्ब घोटालामा जेल पर्ने सम्भावना नजिक आउन थालेपछि महानिर्देशक अधिकारी यति धेरै डराएका छन् की पत्रकारहरूलाई काठमाडौंबाट पोखरा लगेर पत्रकार सम्मेलन गरेका छन् ।

पोखरा विमानस्थलको भिडियो र तस्बिर तथा आफू अनुकूल समाचार लेख्न लगाएका छन् । सामाजिक सञ्जालमा आफ्नो भिडियोहरू पैसा तिरेर बुस्ट गरिरहेका छन् । अधिकारीले बेव न्युज नेपाल र वीङ्स अफ नेपाल नाम गरेका दुई वटा फेसबुक पेज बनाएर आफ्नो प्रचास प्रसार गरिरहेका छन् । अधिकारी महानिर्देशक हुन् । सामान्य व्यक्ति होइनन् । आफ्नाबारेमा सामग्रीहरू प्रकाशित वा प्रचार प्रसार गर्दा आधिकारिक पेजबाट गर्नु पर्ने थियो । तर, सामान्य पेज बनाएर प्रचार गरिरहेका छन् । आफूलाई समर्थन गरेका दुई/चार वटा समाचार र दुई/चार वटा तथा केही पत्रकारले समर्थन गरेकै भरमा महानिर्देशक अधिकारी १५ अर्ब घोटाला काण्डबाट बच्ने सम्भावना निकै न्यून छ । अधिकारीमाथि अख्तियारले अनुसन्धान अन्तिम चरणमा पु¥याइसकेको छ । कुनै पनि बेला महानिर्देशक अधिकारीसहितको समूहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गर्ने सम्भावना छ ।

पत्रकार र सञ्चारमाध्यम सबै बिकाउ हुँदैनन् । महानिर्देशक जस्तो पदमा बसेको व्यक्तिलाई यो कुरा थाहा नहुन सक्छ । केही दिन बुस्ट गरेको समाचार र भिडियोले मनमा शान्ति होला । लेखा समितिको प्रतिवेदन र अख्तियारको अनुसन्धानलाई प्रभावित बनाउन सक्दैन ।

Published : Thursday, 2025 August 21, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया