नक्कली भुटानी शरणार्थी प्रकरण साक्षी झिकाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले साक्षी झिकाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साक्षी झिकाउन आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । उनले भने, ‘बाँकी रहेका साक्षीहरूलाई म्याद जारी गरेर झिकाउन आदेश दिएको हो ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो । यस घटनामा ठगी, लिखत कीर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो ।

एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी रहेको मुद्दामा दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गरेको छ । अब बाँकी रहेका साक्षीहरू उपस्थित गराएपछि पुनः सुनुवाइ हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरूमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी परेको थियो । आफूहरूसँग १३ करोड रूपियाँ उठाएको भन्दै पीडित भन्नेहरूले उजुरी गरेका थिए । दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए ।

Published : Tuesday, 2025 August 12, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया