रविको कोठा एसीबाट चिसो बनाउन प्लाइउडले झ्याल बन्द गरेको खुलासा, बाहिरियो तस्बिर

भैरहवा । सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बस्ने कोठामा एयर कण्डिशन (एसी) रहेको तस्बिर बाहिरिएको छ ।

लामिछानेले नै आफू बस्ने कोठाको झ्यालमा प्लाइउड राखेर बन्द लगाएको रहस्य खुलेको छ । खुला झ्या रहँदा एसपीले काम नगर्ने भएपछि प्लाइउड राखेर बन्द गरिएको थियो । अट्याच ट्वाइलेटसहितको कोठामा एसीसहितको सुविधामा लामिछाने बसेका थिए । लामिछानेलाई जेलभित्र दिइएको सुविधा निकै उच्च तहको थियो । समाचार आएपछि र मानवअधिकार आयोगका सदस्यहरूले अनुगमन गर्ने भनेपछि एसीसहितका ती लक्जरी सामान लुकाइएको रहस्य बाहिर आएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरूले कोठामा एसी देखेका छैनन् । तर, रेडियो, पंखा, ट्वाइलेटसहितका आधारभूत सुविधा देखिएको आयोगका सदस्यहरूले बताएका छन् । पत्रपत्रिका लामिछानेले चाहेको अवस्थामा ल्याउन सकिने पनि सुविधा रहेको छ । लामिछाने कुनै राजबन्दी होइनन् । लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेल पुगेका हुन् ।

लामिछानेलाई जेलभित्र एसीको सुविधा किन र कसले दियो भन्ने गम्भीर प्रश्न उठेको छ । पंखा र आधारभूत सुविधा जेलभित्र दिनुपर्छ । तर, एसी नै किन दिइयो भनेर प्रश्न उठेको छ । ‘अन्नपूर्ण पोस्ट दैनिक’ र ‘लुम्बिनी पत्रपत्रिका’मा एसीसहितको कोठामा लामिछाने बसेको समाचार प्रकाशित भएपछि एसीलाई रातारात हटाइएको छ । लामिछाने बस्ने कोठामा एसीको कम्प्रेसरको तस्बिर बाहिरिएको छ । कोठाबाट कम्प्रेसरमा जाने पाइप लैजान बनाइएको प्वाल पनि आयोगका सदस्यहरूले देखेका छन् । अखिर किन लामिछानेको कोठाबाट रातारात एसीलाई हटाइयो गम्भीर प्रश्नका साथ छानविनको माग उठेको छ ।

कोठालाई एसीबाट चिसो बनाउन झ्याल बन्द गरिएको विषयलाई रास्वपाले बबाल मच्चाएपछि जेलरको जागिर जाने अवस्था आएको छ । जेलभित्र किन र कसले एसी राख्न दियो ? प्रश्न उब्जिएको छ ।

रुपन्देहीका पत्रकार शेरबहादुर केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तस्विर आफै बोल्छ । रवि लामिछानेलाई एसी सहितको सुविधा दिइएको बारे तथ्यका आधारमा हामीले समाचार लेख्यौँ । तथ्यमा टेकेर सत्यलाई स्थापित गर्ने हो ।’

पत्रकार केसीले भने, ‘रविको जेल बसाइका बारेमा विभिन्न अतिरञ्जित र अर्नगल टिप्पणी भएपछि तथ्यका आधारमा हामीले लेखेका हौँ । गएको शनिवार यही तस्विरको आधारमा मैले रविलाई एसी सुविधा बारेको स्टाटस लेखें ।’

‘यो तस्विर भैरहवा कारागारको ब्लक नम्बर चारको हो, जहाँ रविलाई राखिएको छ । भवनको छानोमा राखिएको एसीको आउटडोर शनिवार मध्यरातमा हटाइयो,’ पत्रकार केसीले भने, ‘मानवअधिकार आयोगको टोली जाँदा एसी नभएको नाटक मञ्चन गरियो । अब चुनौती छ । यो तस्विरलाई नक्कली प्रमाणित गरौँ ।’

‘जेलर सुरेश भण्डारी जी, यो एसी खरिदकर्ता र जडान गर्ने दातृ निकाय पनि त हामीले सार्वजनिक गरौंला । रातारात हटाउने बाध्यता के आइलाग्यो ?,’ पत्रकार केसीले प्रश्न गरेका छन् ।

‘बरू रविजीलाई भइरहेको राम्रो भातभान्सा जो उनकै इच्छा अनुसार भइरहेको छ, त्यसमा कुनै कमी नगर्नुहोला । तथ्यमा टेकर सत्य स्थापित गर्ने अभियान निरन्तर रहनेछ,’ पत्रकार केसीले भनेका छन् ।

(तस्बिर सौजन्य लुम्बिनी पत्रिका)

Published : Monday, 2025 August 11, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया