भ्रातृ संस्थाहरूको अधिवेशन गर्न कांग्रेसद्वारा निर्देशिका पारित

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको पदाधिकारी र निर्देशन समितिहरूको संयुक्त बैठकले निर्देशिका पारित गरेको हो ।

कांग्रेसको प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित भएको बताए ।

निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरूसँग सुझाव लिइएको थियो । विश्वकर्माले लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरूको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरू र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक बसेको बताएका छन् ।

अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको विश्वकर्माले बताएका छन् ।

निर्देशिकाका विषयमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्रीहरू, भ्रातृ संस्थाका अध्यक्षहरू र निर्देशन समितिका सदस्यसँग छलफल गरिएको प्रचार विभागका प्रमुख विश्वकर्माले बताए ।

Published : Monday, 2025 August 11, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया