सहकारी ठग र संगठित अपराधका अभियुक्त रविको माग अस्वीकार, जेलभित्रै बस्ने

काठमाडौं । पुर्पक्षका लागि जेलमा रहेका सहकारी ठग र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले अभियुक्त लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो । लामिछानेद्वारा कानूनको प्वालबाट प्रवेश गरि धरौटीमा रकम बुझाएर छुट्ने प्रयास असफल भएको छ ।

सहकारी ठगका अभियुक्त लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपियाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए । लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सापकोटाको इजलासले थुनामा राख्न आदेश दिएको छ ।

यसअघि आफैंले दिएको निवेदनमा तोकिएको पेशी लामिछानेका कानून व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । सोमबार तेस्रो पटक तोकिएको पेशी सुनुवाइका लागि न्यायाधीश सापकोटाको इजसालमा परेको थियो ।

लामिछानेले मुलुकी कार्यविधि फौजदारी संहिता २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई सोही दफाको ७१ बमोजिम थुनामुक्त हुनका लागि आग्रह गर्दै साउन १९ गते निवेदन दिएका थिए । लामिछानेविरुद्ध संगठित अपराध सम्बन्धी कसूर पनि छ ।

त्यही दिन अदालत प्रशासनले प्रक्रिया अघि बढाएर न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले प्रक्रिया अघि बढेको निवेदकलाई जानकारी दिने आदेश गरेका थिए । त्यसपछि साउन १९ र २० गतेका लागि पेशी तोकिएको थियो । साउन २० गते न्यायाधीश प्रल्हादकुमार योगी र साउन २१ गते न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा परेको थियो ।

दुवै पेशी लामिछानेका कानून व्यवसायी राजेन्द्र थापाले निवेदन दिएर स्थगित गराएका थिए । न्यायाधीश योगीले माघ १३ गते लामिछानेलाई १ करोड धरौटीमा छोड्ने आदेश गरेका थिए ।

सोमबार लामिछानेको तर्फबाट नारायण कँडेल, राजेन्द्र थापा र महेन्द्र पाण्डेले बहस गरेका थिए । सरकारी पक्षबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सोमाकान्त भण्डारी, जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु दामोदर गौतम र हिरालाल भोलनले बहस गरेका थिए ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा साउन १९ गते सोमबार निवेदन दिएका थिए । लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपियाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको छ । लामिछाने चैत २२ गते नै काठमाडौंबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा छन् ।

Published : Monday, 2025 August 11, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया