भैरहवा विमानस्थलको अर्बौं घोटालामा उपसमितिले छानविन गरिरहेका बेला संघर्ष समिति गठन

भैरहवा । अर्बौं रुपियाँ भ्रष्टाचार र घोटाला भएको आशंकामा संसदीय छानविनको दायरमा परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई नियमित सञ्चालनका लागि माग उठेको छ ।

विमानस्थल नियमित सञ्चालन गर्न माग गरेर सरकारलाई दबाब सिर्जना गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ ।

आइतबार भैरहवामा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख खाँको पहलमा गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि संघर्ष समिति गठन भएको छ । समितिको संयोजकमा नगर प्रमुख खाँ रहेका छन् ।

संघर्ष समितिको सहसंयोजकमा सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारी रहेकी छिन् । सदस्यहरूमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली पनि समितिको सदस्य रहेका छन् ।

समितिले कम्तीमा एक सातामा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्नेछ । समितिले बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब भ्रष्टाचार गरेको भन्दै सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही सिफारिस गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लेखा समितिको निर्देशनअनुसार आफ्नो छानविन र अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको छ ।

लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।

कारबाही सिफारिसमा परेका महानिर्देशक अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई नियमित सञ्चालनमा ल्याउन नसकेका बेला खाँको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

सार्वजनिक लेखा समितिले नेपाली कांग्रेसकी सांसद मञ्जु खाणको संयोजकत्वमा उपसमिति गठन गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र अनियमितताबारे छानविन गरिरहेको छ । यसअघि, उपसमितिको संयोजक एमालेका सांसद एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रहेका थिए । भट्टराईको विरोध भएपछि संयोजक पदबाट राजीनामा दिएका थिए । भट्टराईको राजीनामापछि कांग्रेस सांसद खाणको संयोजकत्वमा उपसमिति बनेको थियो ।

Published : Sunday, 2025 August 10, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया