सहकारी ठगीमा थुनामा रहेका रविको पक्षमा स्पोन्सर्ड समाचार, अपाङ्ग, बालबालिकाको अधिकार खोइ ?

काठमाडौं । अधिवक्ता अमृत खरेलले सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जेल जीवनबारे केही मिडियामा स्पोन्सर्ड समाचार आइरहेको बताएका छन् ।

खरेलले जेलभित्र अपाङ्ग, बालबालिका लगायतको मानवअधिकारको विषयमा सञ्चारमाध्यमले समाचार नलेख्ने तर, लामिछानेको मानवअधिकारका विषयमा मात्रै समाचार बाहिर आएको भन्दै चिन्ता जनाएका हुन् ।

अधिवक्ता खरेलले भने, ‘रवि लामिछानेको जेल जीवन भनेको जनताको पक्षमा कुनै राज्य विप्लव गरेर आस्थाको बन्दी भएर जेल परेको अवस्था होइन ।’

‘उन (रवि)को जेल जीवनबारे मिडियाले स्पोन्सर्ड समाचार लेखेको छर्लङ्ग छ । किनकि कैंयौं अपाङ्ग र बालबालिका भएका आमा जेलमा छन्,’ खरेलले भने, ‘तिनका मानवअधिकारका स्टोरी नलेख्ने तर, लक्का जवान एक सहकारी ठगीका अभियुक्तको मानवअधिकार मात्र अनावश्यक चिन्ता गरेको देखियो ।’

‘सापेक्षतामा हेरिनुपर्छ यस्ता कुरा । उनी पूर्व गृहमन्त्री हुन् भन्दैमा उनका लागि मात्र कारागार प्रशासनले एसी व्यवस्था गरोस, डिलक्स स्युट व्यवस्था गरोस् भन्ने उनका अन्धभक्त कार्यकर्ताको अपेक्षा हुनसक्छ तर, त्यो समानताको हक अनुसार अरू कैदी बन्दीलाई समान सुविधा दिन नसकेसम्म मेल खाने कुरा होइन,’ उनले भने ।

‘उनी बसेको त्यो कारागार सुधार नहुनुको जिम्मेवारी दुई पटक गृहमन्त्री भइसकेको रवि लामिछानेले स्वयंले पनि लिनुपर्छ,’ अधिवक्ता खरेलले भने, ‘उनले देशभरि कारागारको पूर्वाधार सुधार गरेको हुँदो हो त अहिले उनलाई आफैंलाई बस्न सजिलो हुने रहेछ त ।’

‘अझ पासपोर्ट दुरुपयोग मुद्दा त उनले राजनीतिक मोलमोलाइ गरी मुद्दा नचल्ने बनाएको हो,’ खरेलले भने, ‘नत्र त्यो मुद्दामा उनी अलग्गै कैदका हकदार हुन् । रवि समर्थकको रोइलो र घोचपेचले केही हुनेवाला छैन ।’

माओवादी केन्द्र निकटका केही सञ्चारमाध्यमले लामिछानेको पक्षमा स्पोन्सर्ड (पैसा लिएर) समाचार प्रकाशित गरिरहेको आरोप लागेका बेला अधिवक्ता खरेलले सो विषय उठाएका छन् । अधिवक्ता खरेल कुनै समय पत्रकारितामा क्रियाशील थिए ।

Published : Sunday, 2025 August 10, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया