घण्टी कांग्रेसहरूलाई नै पद र अवसर चाहिएको छ, अवसरवादीको सूची तयार पारिएको छ : सभापति थापा

सूर्यविनायक । नेपाली कांग्रेस, भक्तपुरका सभापति एवं प्रतिनिधि सभाका सांसद दुर्लभ थापाले कांग्रेसको सक्रिय सदस्यता लिएर रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने काम गलत भएको बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाली कांग्रेस सूर्यविनायक नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको सदस्यता बोकेर रास्वपाको सहकारी ठगीको हस्ताक्षर अभियानमा सहयोग गरिरहेको बताए । उनले कांग्रेसको सच्चा कार्यकर्ता सहकारी ठगहरूको पक्षमा जान नहुने बताए ।

सभापति थापाले रास्वपाको हस्ताक्षर अभियानमा सहभागी घण्टी कांग्रेसहरूलाई नै पद र अवसर चाहिएको भन्दै औकातमा बस्न सचेत गराएका छन् । कांग्रेसको सदस्यता लिएर हस्ताक्षर अभियानमा लागेकाहरूको सूची बनाएर राखिएको थापाले बताएका छन् ।

सभापति थापाले पार्टीलाई बलियो बनाउन वडा नगर र प्रदेशमा विकासका कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गरेका छन् । उनले आगामी निर्वाचनमा बहुमत सिट ल्याने दिशातर्फ अग्रसर बन्न आग्रह गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन खोज्नु गलत भएको बताए । उनले अब संविधान संशोधन गरिए सबैभन्दा पहिला देशका विशिष्ट पदभार ग्रहण गरिसकेको व्यक्तित्वहरू राजनीतिमा आउन नदिने गरी संशोधनको पहिलो पाटोमा यसलाई रोक लगाउने गरी संशोधन गर्नुपर्ने बताए ।

एमालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने कदमले नेपाली राजनीतिमा सही नजिर स्थापित गरेको परियारले बताए ।

नेपालकै पहिलो राष्ट्रपति डा.रामवरण यादव र हालका राष्ट्रपति रामचन्द्र पौडेल पनि सक्रिय राजनीतिम नफर्कने परियारले बताए ।

Published : Saturday, 2025 August 2, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया