आजीवन अध्यक्ष बनेका प्रचण्डको कुर्सीमाथि थ्रेट, टक्कर दिने नेताका जन्म

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्मासँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशंकित बनेका छन् ।

शर्माको कार्यशैलीलाई कार्यकर्ताले मन पराउँछन् । नेतृत्वले शर्मालाई रुचाउँदैन । कार्यकर्ताहरूलाई संरक्षण गरेर काम गर्ने शर्माको शैलीबाट अध्यक्ष दाहाल सबैभन्दा धेरै असन्तुष्ट छन् ।

शर्माले साउन ६ गते पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिले दाहाललाई झट्का लागेको छ । शर्माले बोलेका केही वाक्यहरूले पार्टीको आन्तरिक संरचना र नेतृत्वको वैचारिक प्रश्नहरूमाथि गहिरो बहसको ढोका ढक्ढक्याएको छ ।

नेता शर्माले ‘कमरेड मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्रीहरू असुली धन्दामा लागेका छन्’ भन्ने अभिव्यक्तिले हलचल ल्याइदिएको छ । शर्माको अभिव्यक्तिले सबैभन्दा ठूलो चोट दाहाललाई परेको छ । त्यसको स्पष्ट संकेत देखिएका छन् ।

नेता शर्मा स्वयंले दाहाल प्रधानमन्त्री हुँदा मात्रै होइन पार्टी सरकारमा मात्रै जाँदापनि पटकपटक गरी अर्थ, गृह, ऊर्जा, शान्ति जस्ता महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्दै आएका छन् ।

शर्माको अभिव्यक्तिलाई लिएर माओवादीभित्र बहस भइरहेको छ । अध्यक्ष दाहाल निकटका नेताहरूले शर्मासँग स्पष्टीकरण सोधेर कारबाही गर्नुपर्ने आवाज समेत उठाएका छन् । शर्माका समर्थकहरू भने बचाउमा छन् ।

अध्यक्ष दाहालको खुलेर आलोचना गर्नेमा नेता शर्मा पहिलो नम्बरमा पर्छन् । कुरा लुकाउन जान्दैनन् । जे देख्छन् वा भोग्छन् त्यसलाई सार्वजनिक रुपमा अभिव्यक्त गर्छन् । शर्माको अभिव्यक्तिले सबैभन्दा झट्का अध्यक्ष दाहाललाई लाग्ने गरेको छ ।

निरन्तर पार्टीको अध्यक्ष पदमा बसेर हालिमुहाली गरिरहेका दाहाललाई बिस्थापित गर्ने पक्षमा शर्मासहितका नेताहरू छन् । तर, दाहालले अध्यक्ष पद अहिले नै छाड्ने पक्षमा छैनन् ।

अध्यक्ष दाहालले आफ्नो आलोचना गर्ने शर्मासहितका नेताहरूलाई पार्टी छाडेर जान धम्की समेत दिइसकेका छन् । शर्मा र अन्य नेताहरू पार्टी छाड्ने होइन माओवादीलाई एकताबद्ध बनाएर सशक्त रुपमा जान चाहन्छन् । शर्मासँग दाहालले खतरा महसुस गरिरहेका छन् । त्यसको संकेत अध्यक्ष दाहालका अभिव्यक्तिहरूमा आइरहेका छन् ।

Published : Saturday, 2025 August 2, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया