पोखराको झण्डै १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस प्रदीपले दिए आफूविरुद्ध समाचार लेख्ने अनलाइनलाई धम्की
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा भएको झण्ड १५ अर्ब भ्रष्टाचारका मुख्य नाइके नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सार्वजनिक लेखा समितिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
केही दिन अगाडि रातोपाटीको युट्युब अनलाइनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको घोटालामा आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले लेखा समितिको उपसमितिको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन् ।
महानिर्देशक अधिकारीले एउटा अनलाइनमा आएको समाचारलाई प्रिन्ट गरेर उपसमितिले प्रतिवेदन बनाएको आरोप लगाएका छन् । राप्रपाका सांसद राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले महानिर्देशक अधिकारीलाई भ्रष्टाचारको मुख्य नाइके भन्दै निलम्बन गरेर कारबाही सिफारिस गरेको छ ।
उपसमितिको प्रतिवेदनअनुसार पोखरामा भएको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीसहितको समूहलाई कारबाही सिफारिस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलमा लेखेर पठाएको छ । कुनै पनि बेला महानिर्देशक अधिकारी र उनको समूह निलम्बनमा पर्ने सम्भावना छ ।
महानिर्देशक अधिकारीले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘तपाईलाई म एउटा अनलाइनको नाम भन्छु । अफ एयरमा । त्यहाँ मेरोविरुद्धमा मात्रै त्यो न्यूज आउँछ । त्यो न्यूज प्रिन्ट गर्नुस् । समितिको रिपोर्ट हेर्नुस् । कमा, फुलिस्टप चेञ्ज भयो भने मसँग आएर कुरा गर्नुस् ।’
अधिकारीले भने, ‘१५ अर्ब भ्रष्टाचार भयो भनेर तपाईहरूले लेख्नुभयो होइन । काम २२ अर्बको भयो । ३ अर्ब अहिले पनि भुक्तानी गर्न बाँकी छ । १८ अर्ब भयो । ४ अर्बमा त्यत्रो विमानस्थल बन्यो भनेर हल्ला गर्नु हुन्छ । यो जोक होइन । योभन्दा ठूलो जोक के हुन्छ ? यस्तो जोकको पनि पछि लाग्ने हो ?’
‘उहाँ (उपसमिति)हरूको प्रतिवेदन हेर्नुस् । रनवे फिल गरेको फोटो छ । पूर्वमा ११ मिटर, पश्चिममा २० सेन्टी मिटर फिल भएको छ । फिल गर्नुपर्ने भन्ने साइन्स हुँदैन । यो आवश्यक्ता अनुसार कट एण्ड फिल हुन्छ । लेबलको कुरा एरोडम ईन्जिनियरले गर्ने कुरा हो । ईन्जिनियरिङ प्रतिनिधि को हो ? को हो विज्ञ ?’
‘यो रिपोर्टमा प्रमाण छैन । म एउटा अनलाइनको नाम भन्छु । अमुक अनलाइन छ । त्यो अनलाइनको रिपोर्ट प्रिन्ट गर्नुभयो भने यो प्रतिवेदन बन्छ,’ महानिर्देशक अधिकारीले भनेका छन् ।
अनलाइनको नाम लिएका छैनन् । प्राधिकरणको महानिर्देशक जस्तो जिम्मेवार पदमा बसेका अधिकारीले सार्वजनिक मिडियामार्फत आफूविरुद्ध निरन्तर समाचार लेख्ने अनलाइनको हुर्मत लिएका छन् । उनले अघोषित रुपमा सो अनलाइनलाई धम्की दिएका छन् । सार्वजनिक लेखा समितिबाटै कारबाही सिफारिस भइसकेका महानिर्देशक अधिकारीले आफूलाई सुधार गर्नेभन्दा पनि समाचारहरू लेख्नेविरुद्ध गतिविधि सुरु गरेका छन् ।
‘यो सबै पैसा चाइनिज सरकारले दिएको हो । बिल भरपाइ भएपछि हामीले अर्थ मन्त्रालय हुँदै चीन पठाउने हो । एक्जिम बैंकलाई । एक्जिम बैंकले चीनबाट चीनमै खाता भएको एकाउन्टमा मनि ट्रन्सफर गर्छ । सिभिल एभिएसनमा पैसा आउने हामीले पे गर्नु होइन,’ अधिकारीले भनेका छन् ।
‘यस्तो सूचना बेच्ने ? चीनले बोरामा पैसा लिएर बाँड्यो ? यो प्रतिवेदनले त्यही भन्छ त । भ्रष्टाचार भएको छैन । प्रमाणले भन्दैन । व्यवहारले भन्दैन,’ उनले भने ।
महानिर्देशक अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा खरिदमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले एयरपोर्टको जग्गालाई तारजाली गरेर राखिएको भन्दै एयरपोर्टभन्दा बाहिरको जग्गामा मिडिया लगेर भैँसी दौडिएको जग्गा देखाएर भाइरल बनाएको बताएका छन् ।
‘भैरहवामा म जग्गाको विषयमा कहिँ पनि छैन । जग्गा खरिद ०७१/७२ मा भएको हो । मुआब्जा तोकिसकिएपछि बैंकिङ कारोबारबाट आयोजनाको खाताबाट जनताको खातामा पैसा गएको छ । त्यो सबै जग्गा एयरपोर्टको तारबारभित्र छ । अहिले पनि । त्यहाँ प्रायोजित रुपमा लगेर एयरपोर्टको तारबारभन्दा बाहिर लगेर खोलामा लगेर भैँसी देखाएर यो जग्गा यो हो भनेर तपाई पत्याउनु हुन्छ ?,’ अधिकारीले भने ।
‘एयरपोर्टमा एउटा ढुंगा देखियो भने फ्लाइट हुँदैन । अनि भैँसी एयरपोर्टभित्र दौडिन्छ । भाइरल छ,’ उनले भनेका छन् ।
यसअघि, सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ ।
कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् । यो समूहलाई कारबाही गर्नुपर्ने बेला झन् आकर्षक पद त्यो पनि दुई/दुई वटा दिँदा समेत राज्यका निकायहरू निरिह बनेर बसेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया