मधेश प्रदेशमा पूर्वअसई र वडाध्यक्ष कुट्ने सईको शक्तिशाली पावर

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम मातहतका ८ जिल्लामा तस्करी बढिरहेको भनेर समाचार सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय मधेश प्रदेशका जिल्ला र भन्सार नाकाहरूमा पनि कर संकलनमा आएको गिरावटले पनि त्यो देखाएको छ । तस्करी बढेकै कारण कर संकलनमा गिरावट आएको भन्सार कार्यालयहरूले स्वीकार गरेका छन् ।

भन्सारछलीका सामान भित्र्याउनेसँग प्रहरीले घूस डिल गरेको अडियो नै सार्वजनिक भइरहेका छन् । सर्लाहीको हिरापुर ब्यारेज चौकीका ईञ्चार्ज सई बैद्यनाथ दासले तस्करीको लाइन दिएर घूस मागेको अडियो बाहिरिएपछि उनलाई निलम्बन नै गर्नुपरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले नै सादा पोशाकका प्रहरी मातहतका जिल्ला र चौकीमा खटाउने गरेको आरोप छ ।

नेपाल प्रहरीका पूर्वअसई श्यामसुन्दर साहको सल्लाहमा मधेश प्रदेश प्रहरीले सादा पोशाकमा प्रहरी खटाउने गरेको आरोप छ । पूर्वअसई साहले घुमुवाको सूची बनाउने त्यही सूचीअनुसार मधेशका ८ वटा जिल्लामा बिचौलियाहरू खटाउने गरेको स्रोतले जनाएको छ ।

पूर्वअसई साहले मधेश प्रदेश प्रहरीका प्रमुखको आडमा अबैध हुन्डीदेखि ट्रान्सपोर्ट संचालकहरूसँग डिल गर्ने गरेको आरोप छ ।

जागिरका दौरानमा अधिकांश समय मधेश प्रदेश र त्यस अन्तर्गत सर्लाही र रौतहट जिल्लामा घुमुवा बसेका पूर्वअसई साहलाई बसन्तबहादुर कुँवर आईजीपी भएपछि ताप्लेजुङ सरुवा गरेका थिए । ताप्लेजुङ सरुवा भएपछि १ वर्षअघि साहले प्रहरीबाट राजीनामा दिएका थिए । साहले अबैध हुण्डी कारोबारीदेखि भन्सारछलीका सामान भित्र्याउनेहरूसँग समेत मधेश प्रदेश प्रहरीका प्रमुखको नाम लिएर लाभ लिने गरेको आरोप छ ।

पूर्वअसई साहले पर्साका होटल व्यवसायी देवप्रकाश चौरसियादेखि नेपाल प्रहरीका पचासौं जनासँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपियाँ लिएर फिर्ता नगरेको आरोप पनि छ । नेपाल प्रहरीका डीआईजी, एआईजीका श्रीमतीहरू रहेको कम्पनी हो भनेर करोडौं पैसा उठाएर पैसा फिर्ता नगरेको चौरसियाले बताए । बीरगंज बसपार्कमा देबदरबार होटल चलाउँदै आएका चौरसियाले भने, ‘मसँग राम्रो फाइदा हुने ब्यापार गर्नुपर्छ, डीआईजी एआईजीका श्रीमती छन् भनेर साढे ७ लाख रुपियाँ लियो । लामो समयसम्म फिर्ता दिएनन् । ४ वर्ष भइसक्यो, साढे ७ लाख फिर्ता पाउन सकिनँ । पैसा अनलाइनमार्फत् दिएको प्रमाण पनि छ ।’

पूर्वअसई साहले नेपाल प्रहरीका राजमंगल सिंहसँग ५०/६० लाख, सुरेश यादवको ३० लाख र निरज सिंहको ५ लाख रुपियाँ खाइदिएको बताए । सुरेश यादवले त घर बेचेर दिएको रकम साहले खाइदिएको देवप्रकाशले बताए । देवप्रकाश भन्छन्, ‘राजमंगलसहितका ५०औं प्रहरीसँग साहले करोडौं ठगी गरेको छ, त्यही रकमले क्रेटा गाडी चढेर हिंड्ने गरेको छ । बीरगंज महानगरपालिका–१४ नं. वडाको राधेमाईमा करोडौंको घर बनाएको छ । हामीजस्तालाई ठगेको रकमले काठमाडौंमा समेत घर बनाएको छ रे भन्ने सुनिदैछ । साहले लगेको रकम नदिएकाले सबै पीडितहरू उजुरी दिन जाँदैछौं ।’

अबैध नेटवर्किङको नाममा थुप्रै प्रहरीलाई ठगी गरेकोबारेमा पूर्वअसई साहले प्रतिक्रिया दिँदै भने, ‘सबै गलत कुरा हुन् ।’

नेटवर्किङ ब्यापारको नाममा धेरै प्रहरीसँग ३ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म लिएको र फिर्ता नगरेकोबारेमा साहले भने, ‘त्यस्तो गरेको छैन, गलत हो ।’

पूर्वअसई साह र बारा–पर्सामा जरा गाडेर बसेका सई सागर राणाको जोडीले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र अपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो । १० वर्षसम्म यो जोडीले मधेश प्रदेशका डीआईजी र आईजीपीको संरक्षणमा तस्करी साम्राज्य चलाएको थियो । बसन्तबहादुर कुँवर आईजीपी भएपछि साह र राणालाई ताप्लेजुङ र रामेछाप सरुवा गरिदिएका थिए । ताप्लेजुङ सरुवा भएपछि साहले प्रहरी सेवाबाटै राजीनामा दिएका थिए ।

धिरजप्रताप सिंह मधेश प्रदेशको डीआईजी हुँदा र आईजीपी भएपछि पनि पूर्वअसई साह र बारा, पर्सामा जरा गाडेर बसेका बरिष्ठ सई राणाको जोडीले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र अपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो । राणाले प्रहरीको कर्तब्य नै बिर्सेर एक भोजमा सहभागी बीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई सांघातिक आक्रमण गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । तिनै वडाध्यक्ष चतुर्वेदीमाथि कुर्सीले प्रहार गर्ने राणालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको छ ।

गएको होलीको दिनमा वीरगञ्जको पानीट्यांकीस्थित डाइमन प्यालेसमा सई सागर राणासहितको ७ जनाको समूहले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । जाहेरीअनुसार आक्रमणकारीलाई पक्राउ नगरी उल्टै उच्च सरकारी वकिल कार्यालय बीरगंजमार्फत् महान्यायाधीवक्ता कार्यालयमा फौजदारी मुद्दा देवानीमा परिणत गर्न सिफारिस गरिएको छ ।

Published : Saturday, 2025 July 26, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया