सम्पूर्ण आदिवासी जनजातिलाई कांग्रेसमा समाहित गराउन हामी तयार छौँ : सभापति देउवा

जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् ।

शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा देउवाले विभिन्न जातजातिका पहिचानलाई जोगाउँदै पहिचानसहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर बनाउने बताए ।

उनले भने, ‘विभिन्न भाषाभाषीहरू छन्, सुन्दरता हाम्रो मौलिकता हो, नेपाल सुन्दर छ, सम्पूर्ण आदिवासी जनजातिलाई कांग्रेसमा समाहित गराउन के गर्नुपर्छ हामी त्यो गर्न तयार छौँ ।’

कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ शेर्पाले नेपालमा रहेका एक सय २४ जातजातिको भाषा, धर्म, संस्कृति, सभ्यता, संस्कार र पहिचानलाई संरक्षण गर्न राज्यको नीतिगत व्यवस्था तयार गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रिनले श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संविधानमा आदिवासी जनजाति, महिला, दलित र श्रमजीवी वर्गको हक अधिकार सुनिश्चित भएको बताए । पाख्रिनले जाति, भूगोल, भाषा र भेषको आधारमा पहिचान, प्रतिनिधित्व र पहुँचमा पु¥याउन नेपाली कांग्रेसले नै उत्कृष्ट भूमिका निर्वाह गरेको बताए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले जनताको आर्थिक समृद्धिका साथै हितका लागि निरन्तर काम गर्ने पार्टी कांग्रेस भएको बताए । उनले देशलाई समृद्धिको बाटोमा लैजान आदिवासी जनजातिहरूको भूमिका महत्वपूर्ण भएको बताए ।

Published : Friday, 2025 July 18, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया