हामी सहकारी ठगेर मुद्दा झेलेपछि हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो होइनौं : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् ।

आइतबार झापामा एमालेका जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।

केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको उनले टिप्पणी गरेका छन् । ओलीले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरेका छन् ।

‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन,’ ओलीले भने ।

‘यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ अध्यक्ष ओलीले भने ।

‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन,’ ओलीले भने, ‘हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’

‘केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने बताएका छन् । आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको ओलीले बताए ।

अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उनले बताए । ओलीले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको बताएका छन् ।

Published : Sunday, 2025 July 13, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया