नेपालमा राजनीतिक अस्थिरता ल्याउन चीन पुनः सक्रिय, खनाल-भण्डारी-श्रेष्ठलाई परिचालन
काठमाडौं । चीनले नेपालको आन्तरिक राजनीतिमा बेलाबेला केही कम्युनिस्ट नेताहरूमार्फत हस्तक्षेप र दवाव बढाउने गरेको छ ।
चीनको योजनामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत कम्युनिस्टहरूलाई जुटाउन खोजेको तथ्य बाहिरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले चीनको भ्रमण सकेर काठमाडौं आउनेवित्तिकै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन् । उनले विद्यादेवी भण्डारीको नेतृत्वमा एमालेसँग पार्टी एकीकरण गर्न सकिने विवादास्पद अभिव्यक्ति दिए चीनको योजना नेपालविरुद्ध के छभन्ने प्रष्ट पारिदिएका छन् ।
एक वर्षदेखि नेपालमा राजनीतिक स्थायित्वको सरकार छ । प्रधानमन्त्री केपी ओलीले सरकार चलाइरहेका छन् । दुई ठूला दल नेपाली कांग्रेस र एमालेको राजनीतिक स्थायित्वको सरकारलाई भत्काएर चीनले स–साना दलहरूको गठबन्धनमा कम्युनिस्ट बाहुल्य रहेको सरकार बचाउन चाहेको सन्देश खनालमार्फत पठाएको छ । नेपालमा एमाले र कांग्रेसको बलियो सरकार बनेको चीनलाई मन परेको छैन । सरकारविरुद्ध गतिविधि गर्न चीनले प्रत्येक हप्ता आफ्नो विभिन्न तहका नेताहरूलाई काठमाडौंमा पठाएर दवाव सिर्जना गर्दै आएको भनेर आक्षेप लागेका बेला खनालको अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको छ ।
खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले भएको बताएर हलचल ल्याइदिएका छन् । चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताएका छन् ।
खनालले एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए । खनालले एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुने बताए । ‘अहिले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा (एमाले) नै हो,’ खनालले भने, ‘अनि त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो ।’
‘त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको हो,’ पूर्वप्रधानमन्त्री खनालले भने ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको खनालले बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई चीनले भ्रमणमा बोलाएर भव्य स्वागत गरेर नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि दवाव दिएको थियो । माओवादी केन्द्रका नेता श्रेष्ठलाई पनि बोलाएर चीनले कम्युनिस्ट एकतामा दवाव दिइसकेको छ ।
केही दिन अगाडि पूर्वराष्ट्रपति भण्डारी र माओवादी नेता श्रेष्ठबीच गोप्य भेटवार्ताहरू भइसकेका छन् । त्यो भेटमा भण्डारी र श्रेष्ठबीच कांग्रेस–एमाले गठबन्धनको सरकार ढालेर एमाले र माओवादीसहित स–साना कम्युनिस्ट पार्टी र अन्य दलहरूको सरकार बनाउन प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
कांग्रेस र एमालेको सरकार ढाल्न चीनले झलनाथ खनाल, विद्यादेवी भण्डारी र नारायणकाजी श्रेष्ठलाई परिचालन गरेको भनेर काठमाडौंमा राजनीतिले तरंग ल्याइदिएको छ । श्रेष्ठले पनि भण्डारीलाई भेट गरेर कम्युनिस्टहरू मिल्नुपर्ने विषयमा कुराकानी भएको स्वीकार गरिसकेका छन् । यी तीन जना नेताहरू चीन निकट मानिन्छन् । चीनकै दवाव र सल्लाहमा पूर्वराष्ट्रपतिभण्डारी एमालेको राजनीतिमा फर्किएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया