खनालको कारबाही फिर्ताका लागि कांग्रेसमा दवाव दिन प्रदर्शन, विनोद चौधरीको हिसाब किताब हुने

बर्दघाट । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई भएको कारबाहीको विरोधमा नवलपरासी जिल्लामा प्रदर्शन भएको छ ।

शुक्रबार नवलपरासी कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघसहितका भ्रातृ संस्थाहरूले संयुक्त रुपमा महामन्त्री खनाललाई कारबाही गरेको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘शरणार्थी नेता’ विनोद चौधरीविरुद्ध पनि नारावाजी गरेका छन् । प्रदर्शनका क्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध पनि नाराबाजी भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी कांग्रेसका महामन्त्री खनाललाई कारबाही गरेपछि विरोध भइरहेको छ ।

खनालमाथि अन्यायपूर्ण, अवैधानिक, प्रतिशोधयुक्त पूर्वाग्राही ढङ्गबाट गरिएको अनुशासनको कारबाहीको विरोध सभा समेत भएको छ । विरोध सभामा वक्ताहरूले विनोद चौधरी र देवेन्द्रराज कँडेलका हर्कतको स्थानीय नेता, कार्यकर्ताले नोटिसमा राखेको चेतावनी दिएका छन् ।

मधेशी आरक्षणबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका विनोद चौधरी प्रतिनिधि सभा निर्वाचनमा नवलपरासीबाट टिकट लिएर निर्वाचित भएका थिए । आफ्नो विरोध गरेको भन्दै महामन्त्री विक्रम खनालसहितका कांग्रेसका नेताहरूविरुद्ध पैसाको रवाफ र दवावमा महामन्त्री गगन थापालाई प्रभावमा पारेर कारबाही गराएको आरोप छ ।

विनोद चौधरीले केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइरालाको विरोध गर्दै चन्दा दिएर आफू कांग्रेसमा आएको अभिव्यक्ति दिएका थिए । महामन्त्री थापा निकटका केन्द्रीय सदस्य प्रकाश रसाईलीले विनोद चौधरीको बचाउमा खुलेर बोलेका थिए ।

Published : Friday, 2025 July 11, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया