कँडेल सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन : सभापति देउवा (तस्बिर)

गलकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्व.गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् ।

शुक्रबार बाग्लुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पूण्यतिथिमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जलिसभामा देउवाले स्व.कँडेल वीपीको पथमा हिँड्ने निष्ठावान् र इमानदार नेताका रूपमा रहेको बताए ।

सभापति देउवाले भने, ‘उहाँ सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा वीपीसँग मिल्छ ।’

‘देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिनेछ,’ सभापति देउवाले भने, ‘उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।’

कँडेलले राजनीतिमा इमान र प्रतिष्ठा कमाएको भन्दै देउवाले कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुर्‍याएको बताए । कँडेलको निधनप्रति सभापति देउवाले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको असार १५ गते आइतबार निधन भएको थियो ।

चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका कँडेलको निधन भएको थियो ।

विक्रम संवत् २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित थिए ।

बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुन् ।

विक्रम संवत् २०४६ आन्दोलनका क्रममा जेल परेका कँडेल बहुदलपछि जिल्ला सभापति र सांसद बनेका थिए ।

श्रद्धाञ्जलि कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, बाग्लुङ कांग्रेसका सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचन, पूर्वसांसद अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 July 11, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया