मनाङ कांग्रेसका पूर्वउपसभापति घलेको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका पूर्व उपसभापति राज घलेको निधन भएको छ ।

घले जिल्ला विकास समितिका पूर्व उपसभापति एवं नेपाली कांग्रेस मनाङका संस्थापक सदस्य पनि हुन् । घलेको असार २६ गते साँझ ७ः४५ बजे निधन भएको कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरबाट शुक्रबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

मनाङ जिल्ला नासों गाउँपालिका वडा नं. ८, ताचै निवासी घले विक्रम संवत् २००४ असार १० गते जन्मिएका हुन् ।

घलेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको शोक वक्तव्यमा उल्लेख छ ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका घलेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

घलेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्व.घलेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले पनि घलेको निधनबाट मनाङ कांग्रेसले अग्रज अभिभावक गुमाएको बताए । उनले घलेको निधनबाट मनाङ कांग्रेस शोकमा रहेको भन्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । शुक्रबार स्व.घलेको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिँदै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सांसद एवम् पूर्वराज्यमन्त्री गुरुङले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।

Published : Friday, 2025 July 11, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया