फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको ईआईए स्वीकृत, डा.राणा उत्साहित

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सिटी अफ क्रिकेट धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भईं सम्पूर्ण कानूनी स्वीकृति समेत प्राप्त भएको खबरले उत्साहित बनाएको बताएकी छिन् ।

शुक्रबार डा.राणाले सामाजिक सञ्जालमार्फत प्रेस नोटमार्फत भनेकी छिन्, ‘यस परियोजनासँग सम्बन्धित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।’

‘अब छिट्टै आम सुदूरपश्चिमबासीको सपनाको रंगशाला, आफ्नै घरआँगनमा बसेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट हेर्ने आकांक्षा, वास्तविकतामा परिणत हुनेमा हामी विश्वस्त छौं ।’

‘ऐतिहासिक परियोजनाले केवल क्रिकेट खेलको मात्र नभएर समग्र खेलकुद क्षेत्र, पर्यटन एवं खेल पर्यटन र यस क्षेत्रको आर्थिक विकासमा नयाँ युगको शुरुआत हुने विश्वास लिएका छौं,’ परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

सिटी अफ क्रिकेट धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि परराष्ट्रमन्त्री डा.राणाले ठूलो प्रयास र पहल गरेकी थिइन् ।

२६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस परियोजनामा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्ट्स म्युजियम र मल्टि(स्पोर्ट्स हल जस्ता पूर्वाधार समावेश गरिनेछ ।

ईआईए स्वीकृतिपछि अब परियोजना स्रोत सुनिश्चित गर्दै ग्लोबल टेन्डरमा जान तयारी भइरहेको छ । यसले भविष्यमा फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने सपना नजिक ल्याउने तथा धनगढीलाई सिटी अफ क्रिकेटको रूपमा चिनाउने लक्ष्य राखिएको छ ।

फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले यो उपलब्धिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । शाहीले परराष्ट्रमन्त्री डा.राणासहित सबैप्रति विशेष आभार प्रकट गरेका छन् ।

Published : Friday, 2025 July 11, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया